भारतीय पर्यटकलाई आवागमन सहज बनाइँदै, धार्मिक र साहसिक पर्यटन प्रबर्द्धनमा जोड

काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरुका लागि सीमापार आवागमनलाई सहज बनाउने विभिन्‍न प्रयासहरु भइरहेको जनाएको छ ।

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भएको नेपाल फेस्टिवलु अन्तर्गत दिगो पर्यटन सुदृढीकरण, धार्मिक, सम्पदागत र साहसिक पर्यटन प्रवर्द्धनु शीर्षकको  सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भारतीय पर्यटकहरुंको आवागमन सहजताका लागि भइरहेका प्रयासबारे जानकारी गराएका छन् ।

बोर्डका वरिष्ठ निर्देशक ऐरले भने, हामीले भारतीय पर्यटकहरुको आवागमन सहजतामा विभिन्‍न प्रयासहरु गरिरहेका छौं । यसका साथै धार्मिक तथा साहसिक पर्यटनलाई समेट्ने नेपालको समग्र दीर्घकालीन दृष्टिकोण र नीतिगत सुधारका कामहरु पनि भइरहेका छन् ।

भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार भएकाले बोर्डले सीमा पार पर्यटन प्रवर्द्धनमा अझ सक्रिय भई सहकार्य विस्तार गर्ने लक्ष्य लिएको छ। कार्यक्रममा बोर्डको तर्फबाट वरिष्ठ निर्देशक ऐयर र वरिष्ठ अधिकृत सागर उपाध्यायले प्रतिनिधित्व गरेका थिए ।

नेपाल र भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले वर्षको अन्तिम साता एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज र नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन भारतका संस्कृति मन्त्री माननीय गजेन्द्र सिंह शेखावत, नेपालका कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अजय चौधरी, र भारतका लागि नेपालका राजदूत डा. शंकर प्रसाद शर्माले संयुक्त रूपमा गरेका हुन् ।

तीन दिनसम्म चलेको कार्यक्रममा नेपाल-भारत सम्बन्ध, व्यापार सहकार्य तथा पर्यटनको भविष्य सम्बन्धी विविध समसामयिक विषयमा बहस तथा गोष्ठीहरू आयोजना गरिएको थियो। उक्त सत्रमा नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल, भारतको पर्यटन मन्त्रालयका उपमहानिर्देशक डा. आर. के. सुमन, गोल्डेन एपका अध्यक्ष नीरज साहदेव, एभरेष्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बराल, तथा धुलिखेल माउन्टेन रिसोर्टकी प्रमुख कार्यकारी अधिकृत लीना खड्का श्रेष्ठको सहभागिता रहेको थियो । चर्चित भारतीय पर्यटन विज्ञ डा. सुभाष गोयलले सत्र सञ्चालन गरेका थिए ।

नेपाल पर्यटन बोर्डको प्रदर्शनी कक्ष (पवेलियन) ले नेपाली संस्कृति, प्रकृति, साहसिक यात्रा, अध्यात्मिक तथा वेलनेस पर्यटनजस्ता विषयवस्तुहरू प्रस्तुत गरेको थियो । स्टलमार्फत् विभिन्न प्रचार सामग्री, जानकारीमूलक पुस्तिका, तथा नेपाली पहिचान झल्काउने सामग्रीहरू वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली परिकारहरूको प्रदर्शनीले भारतका आगन्तुकहरूलाई नेपालको स्वाद चाख्ने अवसर प्रदान गरेको थियो । साथै, नेपाली हस्तकला र स्थानीय उत्पादनहरूको प्रदर्शनीले नेपालको समृद्ध हस्तकला परम्परा उजागर गर्‍यो। यस किसिमका कार्यक्रममा दुई देशको संस्कृति र गन्तव्यहरुको प्रदर्शनीले दुई देशबीचको आपसी मित्रता र सांस्कृतिक आदानप्रदानलाई थप बलियो बनाउने बोर्डको विश्‍वास छ ।

You might also like

Comments are closed.