नेपाल राष्ट्र बैंकको १८ औँ अध्यायः को बन्छ नयाँ गभर्नर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन्। गभर्नर पदको दौडमा सशक्त दाबेदार मानिँदै आएका भट्टको राजीनामा पदका लागि मार्ग प्रशस्त गर्न गरिएको जस्तो देखिन्छ । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर को नियुक्तिका लागि सत्तारूढ गठबन्धनभित्र  सहमति जुटेसँगै यो निर्णय आएको हो।

स्रोतका अनुसार गभर्नर नियुक्तिको विषयमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बीच सहमति बनेको छ। कांग्रेस सभापति देउवाले सुरु देखिनै डा. भट्टलाई गभर्नर बनाउन जोड दिँदै आएका थिए, तर प्रधानमन्त्री ओलीको असहमतिका कारण नियुक्ति अनिश्चितजस्तै बनेको थियो।

तर, मंगलबार बिहान देउवासँग भएको भेटवार्तापछि ओलीको धारणा परिवर्तन भएको जनाइएको छ। बुधबार भट्टलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले प्रत्यक्ष छलफल गरेपछि गभर्नर बन्ने बाटो खुलेको राजनीतिक विश्लेषण गरिँदैछ। स्रोतका अनुसार, आगामी सोमबार बस्ने मन्त्रीपरिषद् बैठकमा डा. भट्टलाई १८ औँ गभर्नर नियुक्त गरिने सम्भावना अत्यन्त प्रवल रहेको छ।

गभर्नरको दौडमा अन्य चर्चित नामहरू
डा. भट्टसँगै गभर्नर बन्नको लागि प्रतिस्पर्धा गर्दै आएका अन्य दाबेदारहरूमा राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिना, पूर्वमुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना, र राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रविन्द्र पाण्डे को नाम पनि चर्चामा रहेको छ।

तर, राजनीतिक सहमतिले डा. भट्टलाई एक कदम अगाडि पुर्याएको संकेत देखिएको छ। राष्ट्र बैंकको गभर्नर पद अर्थतन्त्रको दिशानिर्देशनमा महत्वपूर्ण भूमिका खेल्ने संवैधानिक पद हो, जसका लागि हालको समयमा अनुभव, स्थायित्व र राजनीतिक सन्तुलन अत्यावश्यक ठानिएको छ।

अब प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्र बैंकको १८ औँ गभर्नर को हुने भन्ने स्पष्ट हुनेछ। त्यसबेलासम्म, अर्थतन्त्रको नेतृत्व कसको काँधमा जाने भन्ने चासो आर्थिक वृत्तमा तीव्र बनेको छ।

You might also like

Comments are closed.