सुविधा सम्पन्न बसमा लगानी बढाउँदै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले स्तरीय बस सेवा थप गर्ने अभियानलाई जारी राखेको छ । सार्वजनिक यातायातलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित अगाडि बढेको कम्पनीले देशका विभिन्न शहरलाई यातायातको माध्यमबाट जोड्ने काम गरिरहेको छ । हाल ६३ जिल्लाका सडकसम्म कम्पनी अन्तर्गतका बसहरुले यात्रुलाई सेवा प्रदान गरिरहेका छन् ।

पोखरा काठमाडौंदेखि देशका अन्य शहरहरुलाई स्तरीय बस मार्फत जोड्न कम्पनी सफल छ । कम्पनीले एसियाकै उत्कृष्ट स्तरको बससम्म सञ्चालनमा ल्याइसकेको छ । कम्पनीसँग ५० दशकको अनुभव छ । रुपान्तरित कम्पनी भन्दा अगाडि समितिबाट सेवा प्रवाह हुँदै आइरहेको थियो । राज्यको नीति अनुसार २०७४ मा कम्पनी प्रा.लि.मा रुपान्तरण भएर कम्पनीले व्यवसायीलाई सेयर सदस्यका रुपमा जोडेर सेवा प्रदान गरिरहेको छ ।

कम्पनी अन्तर्गत हाल झण्डै १ हजार ३ सय बस सञ्चालनमा रहेको अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । ‘हामीले पछिल्लो समय स्तरीय बस सेवा थप गर्ने अभियानलाई प्राथमिकता दिइरहेका छौं,’ उनले भने, ‘यात्रुले सर्वसुलभ भाडादरमा स्तरीय बसबाट सेवा लिन पाउने वातावरण बनाउन हामी सफल भइरहेका छौैं ।’ व्यवसायीले स्तरीय बसमा लगानी बढाइरहेपनि सवारी गुड्ने सडकको अवस्था भने दयनीय रहेको बताउँदै उनले सार्वजनिक यातायात र सडक राज्यको प्राथमिकतामा पर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्छन् । ‘सडकको दुर्दशा सबैलाई जानकारी नै छ । तरपनि हामीले स्तरीय बसमा लगानी बढाउने अभियान जारी राखेका छौं । आगामी दिनमा पनि स्तरीय बस सेवा सञ्चालनमा अभियानलाई निरन्तरता दिनेछौं ।’

कम्पनीले सबै प्रकारका यात्रुहरुलाई मध्यनजर गर्दै सेवा सञ्चालन गरिरहेको छ । सामान्य बसदेखि अति स्तरीय बसहरु सञ्चालनमा छन् । सोफा सिटमा बसेर यात्रुले यात्रा गर्न सक्ने वातावरण बनेको छ । एसी, ब्लाडकेट, फ्रुटी, बिस्कुट, लेज, पानी सहितका सुविधाहरु बसमा उपलब्ध भएका छन् । मिनीबारसहितको बस सञ्चालनको अवधारणासमेत विकास गर्न कम्पनी सफल भएको छ । पछिल्लो समय यात्रुहरुले आफ्नो चाहना अनुसारको बस छनोट गरेर यात्रा गर्नसक्ने वातावरण बनेको बताउँछन् कम्पनीका संरक्षक तथा पोखरा जगदम्बा ट्राभल्सका सञ्चालक केशवप्रसाद अधिकारी ।

आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुलाई स्तरीय सेवा प्रदान गर्न कम्पनीका बसहरुले योगदान गरिरहेको प्रवन्ध निर्देशक ज्ञानबहादुर केसीले बताए ।

कम्पनीले पोखरालाई केन्द्रमा राखेर आसपासका जिल्लाहरुबाट समेत देशभरका विभिन्न शहर जोड्ने गरी बससेवा थप गरिरहेको छ । पोखरालाई देशको राजधानी काठमाडौंसम्म जोड्ने ‘पृथ्वी राजमार्ग’को निर्माण अवस्थादेखि यातायातका साधनहरु सञ्चालन शुरुवातसँगै राजमार्गको नाममा २०२९ माघ २४ गते ‘पृथ्वी राजमार्ग बस सञ्चालक समिति’को स्थापना भएको थियो । २०७६ जेठ १९ गते समिति रुपान्तरित भई पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.मा दर्ता भएको हो ।

समयको माग एवं सडक विस्तारको क्रम तथा लगानी कर्ताहरुको बढ्दो अभिरुचिसँगै आफ्नो सेवालाई विस्तार गर्न कम्पनी अग्रसर बनिरहेको अध्यक्ष केसी बताउँछन् । कम्पनीले प्रधान कार्यालय पोखरामा राखी गण्डकी प्रदेशलार्ई केन्द्रविन्दु बनाई देशको पूर्व मेचीदेखि पश्चिम महाकालिसम्मका मुख्य तथा सहायक राजमार्गका साथै ग्रामीण कच्ची सडकहरुमा लामो तथा छोटो दुरीका यातायात सेवा प्रदान गरिरहेको छ ।

वातानुकुलित एसी स्तरीय सेवा, माइक्रो बस, भिडियो तथा स्तरिय एवं मध्यम स्तरीय मिनी, द्रुत डांक सेवा, नन् स्टप सेवा लगायत दिवा तथा रात्री सेवा र ग्रामीण कच्ची सडकहरुका लागि स्थानीय सेवाहरु समय सापेक्ष बस तथा जिप सेवा कम्पनीले सञ्चालन गरेर यात्रुलाई निरन्तर सेवा प्रदान भइरहेको अध्यक्ष केसीले बताए ।

You might also like

Comments are closed.