देशभरका व्यवसायीलाई समेटेर सर्वसम्मत नेतृत्य चयन गर्नेछौंः वरिष्ठ उपाध्यक्ष शर्मा

उमाकान्त शर्मा, वरिष्ठ उपाध्यक्ष, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको तेस्रो महाधिवेशन वैशाख १८ गते शुक्रबार काठमाठौंमा हुँदैछ । महाधिवेशनको पूर्व सन्ध्यामा महासंघका वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मासँग गरिएको संक्षिप्त कुराकानीः

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको तेस्रो महाधिवेशनकोे तयारी कस्तो छ ?

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको तेस्रो महाधिवेशन यही वैशाख १८ गते हुँदैछ । हामी तयारीमा जुटेका छौँ र देशभरि जानकारी पु¥याएका छौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा महाधिवेशनको उद्घाटन कार्यक्रम हुनेछ । महासंघसँग आबद्ध ३५ संस्था छन् र ७७ वटै जिल्ला समेट्ने योजनामा हामी छौं । तयारी अन्तिम चरणमा पुगेको छ ।

महाधिवेशनमा के विशेष योजना छ ?

बिगतका कामका समिक्षासहित नयाँ योजना बनाउन महाधिवेशनले विशेष भूमिका खेल्नेछ । यस पटक पुराना व्यवसायीसहित नयाँ व्यवसायीहरूलाई पनि संगठित गर्ने र नयाँ नेतृत्व चयन गर्ने योजनामा हामी छौं । हामी सर्वसम्मत रुपमा सबैलाई मिलाएर नेतृत्व चयन गर्ने प्रयासमा छौं ।

आर्थिक मन्दीको समस्याले हेभी इक्विपमेन्ट व्यवसायमा कस्तो प्रभाव पारेको छ ?

व्यापार व्यवसायमा ठूलो मन्दी आएको छ । निर्माण क्षेत्र कमजोर भएपछि हाम्रो क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ । नयाँ मेसिन निर्यात गर्न सकिएको छैन र पूराना मेसिनबाटै काम चलाउनुपर्ने अवस्था छ ।

निर्माणका काम बढ्दो क्रममा छ । व्यवसायमा सुधार हुन सकेको छैन ?

जिल्ला जिल्लामा व्यवसायी हतोत्साहित हुनु भएको छ । आर्थिक मन्दीका कारण उधारो खपत बढेको छ र व्यापारमा नकारात्मक प्रभाव परेको छ । धेरै व्यवसायी पलायन भइसकेको अवस्था छ । व्यवसायमा टिकिरहेकाहरुलाई पनि समस्या धेरै छन् । बिस्तारै निर्माण गतिविधि बढ्न थालेको सत्य हो । निर्माणको कामले गति लिएमा आगामी दिन सहज हुनेछ भन्ने अपेक्षा गरेका छौं ।

यो क्षेत्रमा सर्भिस, स्पेयर्स पाट्र्स र दक्ष जनशक्तिको अवस्था कस्तो छ ?

पहिला पहिला मेसिनहरु बिक्रीलाई प्राथमिकता दिइन्थ्यो । पछिल्लो समय बिक्री पछिको सेवालाई पनि प्राथमिकतामा राख्ने गरेको पाइन्छ । कम्पनीहरुले सर्भिस र मर्मतसम्भारका लागि आवश्यक पार्टसमा पनि चासो दिएका छन् । यस क्षेत्रलाई आवश्यक पार्टस्हरु बिक्रीका लागि धेरै व्यवसायी सक्रिय भएको देखिन्छ । पार्टस्का समस्या खासै देखिदैन । स्पेयर्स पाट्र्सको सुविधा पहिलेभन्दा राम्रो भएको छ । तर दक्ष जनशक्ति अझै अभाव कायमै छ । हामी आफैंले पनि निजी क्षे त्रबाट जनशक्ति उत्पादनको प्रयास गरेका छौँ, तर ५०% जनशक्ति विदेश गएका छन् ।

दोहोरो करको समस्याबारे महासंघले आवाज उठाउँदै आएको छ । खास समस्या के हो ?

सडकमा नचलेका मेसिनलाई समेत सडक कर तिर्नुपर्ने जस्ता नीतिगत समस्याले व्यवसायीलाई समस्या परेको छ । राज्यले यस्ता समस्यामा गम्भीर ध्यान दिनुपर्छ । हाम्रा मेसिनहरुले निर्माणको काम गर्छन्, सडकमा गुड्दैनन् । त्यसैले मेसिनहरुको सडक कर हटाउनुपर्छ भन्ने हाम्रो माग हो ।

बीमा कम्पनीहरूप्रति तपाईंको धारणा कस्तो छ ?

बीमा कम्पनीहरू व्यवसायीको हितमा काम गरेको देखिँदैन । प्रिमियम लिन्छन् तर बीमा दाबी रकम दिन चासो देखाउँदैनन् ।

अन्त्यमा, महासंघ र व्यवसायीहरूका लागि तपाईंको सन्देश के छ ?

हामी संस्थागत रुपमा व्यवसायीका हकहितमा काम गरिरहेका छौँ । अबका दिनमा व्यापार बिस्तार गर्न थप पहल गर्नेछौं । महासंघले व्यावसायिक हितमा निरन्तर काम गर्नेछ । नीतिगत सुधारका लागि सरकारलाई दबाब दिने काममा पनि हामी निरन्तर लाग्नेछौं । आशा गरौं आगामी दिनमा व्यवसायमा सकारात्मक सुधार हुनेछ र विकास निर्माणले पनि गति लिनेछ ।

You might also like

Comments are closed.