एसपिजि अटोमोबाइल्सलाई ‘इभि पायोनियर अवार्ड’

काठमाडौं । चेरि अटोमोबाइल कम्पनी लिमिटेडको सब–ब्रान्ड, ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रा.लि.ले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । ‘चेरि इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’मा ‘इभि पायोनियर अवार्ड’ द्वारा कम्पनी सम्मानित भएको हो ।

सम्मेलन चीनको आन्हुइ प्रान्तस्थित वुहु सहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टर’मा आयोजना गरिएको थियो । जहाँ चेरिको हेडक्वार्टर तथा मुख्य उत्पादन केन्द्र पनि अवस्थित छन् । सम्मेलनमा चेरि होल्डिङ ग्रुप कम्पनीका उपाध्यक्ष सु हुइले एसपिजि अटोमोबाइल्सका निर्देशन गौरव शारडालाई यो अवार्ड हस्तान्तरण गरे ।

१२० भन्दा बढी देशका ३ हजार भन्दा बढी डिलरहरूको सहभागीता रहेको अन्तर्राष्ट्रिय सम्मेलनले सहभागीहरूलाई अटोमोबाइल क्षेत्रका उपलब्धीहरू प्रदर्शन गर्ने तथा यसबारे विभिन्न रणनैतिक विचारहरू अन्तर्राष्ट्रिय साझेदारहरूसँग आदानप्रदान गर्ने अवसर प्रदान गरेको बताइएको छ ।

सम्मेलनमा वुहु नगरपालिका सरकारका वरिष्ठ अधिकारीहरू, चेरि इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत यिन तोङ्गयुए र चेरि इन्टरनेसनलका महाप्रबन्धक झाङ गुइबिङ लगायतको उपस्थिति थियो ।

एसपिजि अटोमोबाइल्सलाई नेपालमा ओमोडा एन्ड जेइकोको विद्युतीय सवारी साधनहरूको उपस्थितिलाई सफलतापूर्वक स्थापित गर्नमा योगदान तथा कम्पनीको उल्लेखनीय बजार पर्फमेन्सका लागि यो ‘इभी पायोनियर अवार्ड’ प्रदान गरिएको हो । यो सम्मानले नेपालको विकसित हुँदै गरेको अटोमोबाइल क्षेत्रमा दिगो यातायात (सस्टेनेबल मोबिलिटि) प्रवद्र्धनप्रति कम्पनीको प्रतिबद्धता र सक्रियतालाई उजागर गर्ने कम्पनीले जनाएको छ ।

ओमोडा एन्ड जेइकोले सन् २०२४ मा नेपालमा ‘ओमोडा इ–फाइभ’ इभि सार्वजनिक गर्दै आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो भने ‘नाडा अटो सो २०२४’मा यसको रगेड र स्टाइलिस सब–ब्रान्ड ‘जेइको जे–सिक्स’ इएसयुभि प्रस्तुत गरेको थियो । यी नवीनतम इभि ब्रान्डहरूको प्रतिनिधित्व गर्दै एसपिजि अटोमोबाइल्सले पहिलो वर्षमै नेपालमा ८०० भन्दा बढी ओमोडा र जेइकोका गाडीहरू बिक्री गरी उल्लेखनीय उपलब्धी हासिल गरेको छ ।

You might also like

Comments are closed.