नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले यो क्षेत्रमा रहेका व्यवसायीको हितका लागि काम गर्दै आइरहेको छ । हेभी इक्विपमेन्ट व्यवसायीलाई समेट्दै उनीहरुको आवश्यकता र मागलाई हामिले संस्थागत रुपमा सम्बोधन गरिरहेको अवस्था छ । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ सिन्धुलीको संस्थापक अध्यक्ष हुँदै हाल महासंघको केन्द्रीय सदस्यमा रहेर संस्थागत रुपमा काम गरिरहेको छु । सिन्धुली जिल्लामा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ दर्ता प्रक्रियामा हामीले निकै समस्या पनि झेल्नुप¥यो । सिन्धुलीमा संघ स्थापना हुँदाका बखत विकास निर्माणको क्षेत्रमा राम्रै काम पाइरहेको अवस्था थियो । अहिले भने व्यवसायीले काम नपाएर अलपत्र परेका छन् । यो समस्या देशैभरको हो । व्यवसायीको अवस्था पीडादायी छ ।
देश संघीयतामा गइसकेपछि स्थानीय तह गठन भएपछि भने हेभी इक्विपमेन्ट व्यवसायीले काम पाउन छाडेका छन् । स्थानीय तह आफैले उपकरण खरिद गरेर काम गर्ने, अघोषित रुपमा जनप्रतिनिधिले उपकरण खरिद गरेर आफै परिचालन गर्ने कार्य बढेपछि व्यवसायी मारमा परेका हुन् । हिजोआज विकास निर्माणको काम व्यवसायीलाई ठप्प नै छ । काम नपाएर व्यवसायी हाम्रा उपकरण थन्क्याएर बस्न बाध्य छन् । उपकरण नचलेपछि बिग्रन थालेका छन् । यसले उपकरण खरिदमा व्यवसायीले गरेको लगानी बालुवामा पानी खन्याएजस्तै बनेको छ । राज्यले आवश्यकता भन्दा बढी उपकरण बाहिरबाट भित्र्याउँदा नेपाली धन बाहिर गएको छ । आफ्नै देशमा चलिआएका साधन स्रोत प्रयाप्त हुँदाहुँदै बाहिरबाट खरिद गरेर ल्याउनुभएन । यहाँ भएका उपकरणले काम नपाएर बन्द भएर बसेका छन् ।
सवारी लाइसेन्समा धेरै झमेला बेहोर्नुप¥यो । जुन सवारी साधन व्यवसायीले चलाउनुपर्ने हो सोको लाइसेन्स नदिदा व्यवसायीले धेरै सास्ती भोगे । अहिले भने यो समस्या छैन । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले व्यवसायीको मागलाई ऐक्यबद्धता जनाउँदै राज्यलाई दबाब दिएपछि माग सम्बोधन भई अहिले कार्यान्वयनमा आएको छ । पहिला ट्याक्सी, जीप, कार जस्ता साना सवारी साधनको लाइसेन्स लिएको दुई वर्ष वर्ष भएपछि मात्रै हेभी इक्विपमेन्टको लाइसेन्स लिनका लागि प्रक्रिया थाल्नुपर्ने व्यवस्था थियो । महासंघको दबाबमूलक पहलमा सो समस्या समाधान भएको छ । अहिले व्यवसायीले जुन उपकरण तथा साधन प्रयोग गर्ने हो सोको लाइसेन्स लिन पाउने व्यवस्था छ ।
Comments are closed.