काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालका निर्जीवन बीमा कम्पनीहरुको समग्र व्यापारमा सामान्य तर स्थिर वृद्धि देखिएको छ। चैत मसान्तसम्मको तथ्यांकअनुसार, १५ वटा कम्पनीहरुले कुल ३२ अर्ब १२ करोड ९९ लाख ७५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ७.११ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीहरुले २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ संकलन गरेका थिए।
बजार हिस्सामा शिखर इन्स्योरेन्सको दबदबा
व्यापारको आकारका हिसाबले शिखर इन्स्योरेन्स ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै शीर्ष स्थानमा कायमै छ। यद्यपि, उसको वृद्धिदर २.८४ प्रतिशतमा सीमित रह्यो। दोस्रो स्थानमा रहेको सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स) ले ५.८४ प्रतिशत वृद्धिसहित ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ। तेस्रो स्थानको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७.४५ प्रतिशत वृद्धि गरी ३ अर्ब १० करोड ५८ लाख रुपैयाँको व्यापार गरेको छ।
वृद्धिदरमा ओरियण्टल र नेपाल इन्स्योरेन्स अब्बल
तेस्रो त्रैमाससम्मको अवधिमा वृद्धिदरको हिसाबले भने ओरियण्टल इन्स्योरेन्सले सबैलाई उछिनेको छ। कम्पनीले ४१.९१ प्रतिशतको उत्कृष्ट वृद्धिदर हासिल गर्दै २ अर्ब १५ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। यसैगरी, नेपाल इन्स्योरेन्सले पनि ३६.०९ प्रतिशतको लोभलाग्दो वृद्धि गरी आफ्नो व्यापार १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ पुऱ्याएको छ। एनएलजी इन्स्योरेन्स पनि १६.४१ प्रतिशतको राम्रो वृद्धिदरसहित २ अर्ब १३ करोड ४५ लाख रुपैयाँको व्यापार गर्न सफल भएको छ।
अन्य कम्पनीहरुको अवस्था
अन्य कम्पनीहरुमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९.२८ प्रतिशत, सानिमा जिआइसीले ७.८४ प्रतिशत, आइजीआई प्रुडेन्सियलले ३.५८ प्रतिशत, नेको इन्स्योरेन्सले ३.२५ प्रतिशत र नेशनल इन्स्योरेन्सले ०.६२ प्रतिशतको सामान्य वृद्धिदर देखाएका छन्।
तीन कम्पनीको व्यापारमा गिरावट
यद्यपि, समीक्षा अवधिमा तीन कम्पनीको व्यापार भने घटेको छ। सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको व्यापार सबैभन्दा धेरै १३.३ प्रतिशतले घटेर १ अर्ब १३ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ। युनाइटेड अजोड इन्स्योरेन्सको व्यापार ६.२४ प्रतिशतले घट्दा १ अर्ब ८५ करोड ४९ लाख रुपैयाँमा खुम्चिएको छ भने प्रभू इन्स्योरेन्सको व्यापारमा पनि १.३१ प्रतिशतको गिरावट देखिँदा १ अर्ब ३० करोड ९४ लाख रुपैयाँ संकलन भएको छ।
बीमालेख संख्या घट्यो
समग्र बीमा शुल्क बढे पनि सक्रिय बीमालेखको संख्यामा भने गिरावट आएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार, चैत मसान्तसम्ममा २१ लाख ३५ हजार २३३ निर्जीवन बीमालेख सक्रिय छन्। गत वर्षको सोही अवधिमा यो संख्या २१ लाख ९३ हजार ५४७ रहेको थियो। यसले नयाँ बीमालेख जारी हुने क्रम सुस्त भएको वा नवीकरण कम भएको संकेत गर्दछ।
Comments are closed.