अन्तर्राष्ट्रिय व्यापार मेला : अवसरको उत्सव, पूर्वाधारको उल्झन, सरकारको सुस्तता

 

राधिका ढकाल
काठमाडौंको मुटु भृकुटीमण्डप फेरि एकपटक व्यापारिक गुञ्जन र उद्यमशीलताको रौनकले तात्दैछ । यही वैशाख २५ देखि २९ गतेसम्म आयोजना हुन लागेको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ को दशौं संस्करणले मुलुकको शिथिल अर्थतन्त्रमा नयाँ रक्तसञ्चार गर्ने आशा जगाएको छ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा वि.सं. २०६८/६९ देखि सुरु भएको यो यात्राले एक दशक पार गर्दा, यसले नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याउने संकल्प, लगानी आकर्षण र स्वदेशी उद्योगको प्रवद्र्धनमा कोसेढुंगाको भूमिका निर्वाह गर्दै आएको छ । तर, जति नै उत्साह र सम्भावना बोके पनि, अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार अभाव यस मेलाको सफलता र नेपालको व्यापारिक आकांक्षामाथि प्रश्न चिह्न बनेर उभिएको छ ।

एक दशकको यात्राः अवसर र अपेक्षाको सँगालो

महासंघले विभिन्न व्यापार मेला र प्रदर्शनीहरू आयोजना गर्दै आएपनि, ‘अन्तर्राष्ट्रिय व्यापार मेला’ को अवधारणाले नेपाली उत्पादन, उद्योग र सेवालाई एकीकृत मञ्च प्रदान गरेको छ । यसको मूल ध्येय स्पष्ट छः निर्यात बढाउने, विदेशी लगानी भित्र्याउने, अन्तर्राष्ट्रिय बजारसँग नेपाली व्यवसायीलाई जोड्ने र नवीनतम प्रविधि तथा ज्ञानको आदानप्रदान गर्ने । सुरुवाती दिनदेखि नै स्वदेशी तथा विदेशी प्रदर्शक, क्रेता, लगानीकर्ता र सरकारी निकायको उत्साहजनक सहभागिताले यसको सान्दर्भिकता पुष्टि गरेको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघले आयोजना गर्ने मेलाबाट उद्योग व्यवसायको प्रवद्र्धनमा सकारात्मक योगदान गर्ने बताउँछन् । ‘हाम्रा संघहरुले पनि देशभर विभिन्न मेला महोत्सव आयोजना गर्दै आइरहेका छन्,’ उनले भने, ‘आर्थिक चलायमान बनाउन मेला महोत्सव सहयोगी बनेका छन् ।’ त्यस्तै उनले देशमा लगानीको वातावरण बनाउन ‘लगानी दशक’ घोषणा गरी एकीकृत लगानी कानुन ल्याउन सरकारसँग जोडदार माग गर्छन् । उनी भन्छन्, ‘लगानीमैत्री वातावरण नभई देशको आर्थिक विकास सम्भव छैन ।’

महासंघका उपाध्यक्ष हेमराज ढकालका अनुसार, जिल्लास्तरमा मनोरञ्जनात्मक कार्यक्रमसहित व्यापार मेला आयोजना गर्दै व्यवसायीमा उत्साह भर्ने कामबाट सुरु भएको महासंघको प्रयास आज अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । ‘हाम्रो प्राथमिकता नेपाली मौलिक उत्पादन, विशेषगरी नेपालकै कच्चापदार्थमा आधारित चिया, कफी, गलैंचा, तयारी पोशाक, हस्तकला, कृषिजन्य उत्पादन, जडीबुटी जस्ता निर्यातमुखी वस्तु हुन्,’ ढकाल भन्छन्, ‘यस्ता उत्पादनलाई विश्व बजारमा पु¥याएर देशको अर्थतन्त्र चलायमान बनाउनु मेलाको लक्ष्य हो ।’

कोभिड–१९ महामारीले थला परेको बजार अझै पूर्ण रूपमा तंग्रिन नसकेको अवस्थामा, मेलाले उद्योग तथा व्यापारलाई पुनः गति दिने अपेक्षा गरिएको छ । महासंघको व्यापार मेला समितिका सभापति उमेश डाल्मियाका अनुसार, मेलाको दशौं संस्करणमा ३०० भन्दा बढी स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । ‘मेड इन नेपाल’ पेभिलियन, हस्तकला, विभिन्न वस्तुगत संघका उत्पादन र विशेष आकर्षणका रूपमा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे विद्युतीय गाडी (इभी) रहनेछन् । सार्क राष्ट्रसहित चीन, कोरिया, जापानका क्रेतालाई आमन्त्रण गरिएकोमा चीन, भारत, बङ्गलादेशका व्यवसायीबाट स्टल बुकिङ भइसकेको छ । जसले मेलाको अन्तर्राष्ट्रिय आकर्षण दर्शाउँछ । हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि, ऊर्जा, निर्माण, शिक्षा जस्ता थिमेटिक प्याभिलियनहरू र बीटुबी बैठकहरूले व्यापारिक सम्बन्ध बिस्तारमा सघाउनेछन् । करिब २० हजार अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

पूर्वाधारको पीडा

मेलाले एक दशकको यात्रा तय गर्दा पनि यसको आयोजनामा सबैभन्दा ठूलो तगारो बनेको छ – पूर्वाधार अभाव । नेपाल उद्योग वाणिज्य महासंघजस्तो अग्रणी संस्थाले अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्दा भृकुटीमण्डपको साँघुरो र अपर्याप्त पूर्वाधारमा खुम्चिनुपर्ने बाध्यता विडम्बनापूर्ण छ । गोदाम, प्रदर्शन कक्ष, आराम गर्ने ठाउँ, शौचालय, पार्किङ जस्ता आधारभूत सुविधाको अभावले मेलाको भव्यता र प्रभावकारितामा प्रत्यक्ष असर पारेको छ ।

महासंघले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थलका लागि सरकारसँग बारम्बार गुहार मागेको छ । ‘सरकारले कि त बजेट छुट्याएर आफैं ठूलो व्यापार मेला स्थल बनाइदिनुप¥यो, कि निजी क्षेत्रका छाता संगठनलाई जग्गा उपलब्ध गराएर निर्माण र सञ्चालनको जिम्मा दिनुप¥यो,’ भन्ने महासंघको माग छ । पूर्वाधारको अभावले मेलाको गुणस्तर, आकार र प्रभावकारिता बढाउन तत्काल सम्बोधन गर्नुपर्ने मागलाई टड्कारो बनाएको छ ।

सरकारको भूमिकाः आश्वासन कि ठोस कदम ?

वर्तमानमा नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकार छ । यो राजनीतिक समीकरणले व्यापार, व्यवसाय र देशको अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने महासंघको अपेक्षा छ । तर, अपेक्षा र यथार्थबीच खाडल देखिन्छ । महासंघले देशको अर्थतन्त्र उकास्न कानुन संशोधन, निजी क्षेत्रको मनोबल बढाउने नीति, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच पु¥याउन बारम्बार आग्रह गर्दै आएको छ । लगानी सम्मेलनहरू आयोजना भएपनि त्यसको प्रतिफल देखिने गरी कार्यान्वयनमा आउन सकेको छैन । पूर्वाधार निर्माण, विशेषगरी प्रदर्शनी स्थल जस्ता व्यापार प्रवद्र्धनात्मक संरचनामा सरकारी उदासिनताले निजी क्षेत्रलाई निराश बनाएको छ ।

सरकारले ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ जस्ता अभियानलाई नारामा सीमित नगरी वास्तविक अर्थमा सघाउन ठोस नीति र कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । व्यापार मेला जस्ता प्रवद्र्धनात्मक कार्यक्रमका लागि अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण गर्नु सरकारको प्राथमिकतामा पर्नुपर्छ। कर संकलनमा मात्र ध्यान दिने तर व्यवसायमैत्री वातावरण र पूर्वाधार निर्माणमा कन्जुस्याइँ गर्ने सरकारी रवैयाले दीर्घकालमा देशको अर्थतन्त्रलाई नै कमजोर बनाउँछ ।

शिथिल अर्थतन्त्रमा संजीवनी बुटी ?

मेलाले उत्पादनकर्ता, उपभोक्ता र खरिदकर्ताबीच प्रत्यक्ष अन्तरक्रिया गराउँछ । नयाँ उत्पादनबारे जानकारी दिन्छ र बजार विस्तारमा सघाउँछ । विशेषगरी कोभिडपछिको मारमा परेका साना तथा मझौला उद्यमीका लागि यो मेला आफ्ना उत्पादन प्रदर्शन गर्ने र बजार खोज्ने महत्वपूर्ण अवसर हो । यसले रोजगारी सिर्जनामा अप्रत्यक्ष भूमिका खेल्छ र समग्र आर्थिक गतिविधिलाई बढावा दिन्छ । मेलाले कोभिडपछिको सुस्त अर्थतन्त्रलाई गति दिने, ‘मेड इन नेपाल’ को भावनालाई प्रगाढ बनाउने, निर्यात बढाउने र विदेशी लगानी भित्र्याउने अवसर बोकेर आएको छ । तर, यी सम्भावनालाई यथार्थमा बदल्न पूर्वाधारको चुनौतीलाई पार लगाउनैपर्छ ।

सहकार्य र संकल्पको खाँचो

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उद्यमशीलता, नवप्रवर्तन र आकांक्षाको प्रतिबिम्ब हो । एक दशकमा यसले अनगिन्ती व्यवसायीलाई मञ्च दिएको छ र नेपाली उत्पादनको पहिचानलाई फराकिलो बनाएको छ । तर, यसको पूर्णता अझै उजागर हुन सकेको छैन, जसको प्रमुख कारण हो – अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी पूर्वाधारको अभाव ।

सरकारले निजी क्षेत्रसँगको सहकार्यमा अविलम्ब एक स्थायी, सुविधासम्पन्न अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माणमा अग्रसरता लिनु अपरिहार्य छ । यसो गर्न सकेमा मात्र यस्ता मेलाहरू थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी हुनेछन्, जसले नेपालको समग्र आर्थिक विकास, व्यापार विविधीकरण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा दूरगामी सकारात्मक प्रभाव पार्नेछ । दशौं व्यापार मेलाले नयाँ सम्भावनाका ढोका खोल्दै गर्दा, यसले उठाएका पूर्वाधारका सवालहरूलाई सम्बोधन गर्नु नै मुलुकको समृद्धिको यात्रालाई गति दिनु हो । अन्यथा, अवसरको यो उत्सव, पूर्वाधारको उल्झन र सरकारी सुस्तताको छायाँमा परिरहनेछ ।

You might also like

Comments are closed.