काठमाडौं। नेपाल टेलिकमले नेपालको प्रसिद्ध एवम् सुन्दर पदयात्रा गन्तव्यको रुपमा परिचित लाङटाङ क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने, समुद्री सतहबाट करिब ३८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरी कम्पनीले सो क्षेत्रका बासिन्दा तथा पर्यटकलाई लक्षित गर्दै यो सेवा विस्तार गरेको हो।
काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरुलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरुसँग साटासाट गर्न सहज हुने विश्वास टेलिकमको छ। स्याफ्रुबेशीबाट लगभग २ दिनको पैदलयात्रामा पुगिने यो मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो।
लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत गुणस्तरीय दूरसञ्चार सेवाबाट लाभान्वित हुने कम्पनीले जनाएको छ। उच्च हिमाली क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउने यो कदमले समग्र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
Comments are closed.