९ महिनामा पौने २० अर्बको सुन आयात, सरकारलाई राजश्व मात्रै २ अर्ब २० करोड ७२ लाख 

सुन आयात-बिक्री वितरण कार्यविधि समयसापेक्ष बनाउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । पछिल्लो प्रवृत्ति हेर्दा सुन आयात परिमाणमा भन्दा रकममा ह्वात्तै वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य आकाशिएपछि महंगोमा किन्नुपर्दा आयातको रकम बढी देखिएको हो । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष (आव) २०८१/८२ को ९ महिनासम्ममा नेपालमा १९ अर्ब ४७ करोड ४२ लाख ७० हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९.६६ प्रतिशत बढी हो ।
आव २०८०|८१ को ९ महिनासम्ममा १९ अर्ब ७५ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । यसरी रकमको आधारमा आयात वृद्धि भएको देखिएपनि परिमाणको आधारमा भने गत वर्षको तुलनामा २४.०७ प्रतिशतले सुन आयात घटेको देखिन्छ । गत आवको चैत्रसम्ममा २० लाख ९२ हजार ९ सय ५३ ग्राम सुन आयात भएकोमा घटेर चालु आवमा सोही अवधिमा भने १५ लाख ८९ हजार २ सय ७८ ग्राम सुन नेपाल भित्रिएको छ । उक्त परिमाणको सुन आयातमा सरकारले यो ९ महिनामा २ अर्ब २० करोड ७२ लाख ३६ हजार रुपैयाँ बराबरको राजश्व असुली गरेको छ । तर यसपटक सरकारले सुन आयातमा कर घटाएकाले राजश्व आम्दानी गत आवको तुलनामा १७.३२ प्रतिशत घटेको छ । जबकी, गत आव आयातित सुनबाट मात्रै सरकारले २ अर्ब ६६ करोड ९६ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको थियो । गत मङ्सिर ९ गते सरकारले सुन आयातमा लगाउदै आएको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो । भन्सार दर घटाएको सोही दिन बजारमा सुनको मूल्य तोलामै १५ हजार ९०० रुपैयाँ घटेको थियो ।
व्यवसायीहरुले सुन मनलाग्दी खरिद गर्न पाउँदैनन् । सरकारले दैनिक निश्चित कोटा निर्धारण गरेकाले वाणिज्य बैंकमार्फत खरिद गर्नुपर्ने हुन्छ । अहिले दैनिक सुनको कोटा २० किलो छ । अझ यसअघि वि.सं २०७८ तिर दैनिक २० केजी सुन आयात घटाएर दैनिक १० केजिमा झारिएको थियो । यद्यपी अहिले नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ लाई समयसापेक्ष बनाउनका लागि परिमार्जन गर्न लागेको छ । हाल दैनिक सुनको कोटा २० किलो छ तर व्यवसायीहरु भने बजारमा सिजन र अफसिजनअनुसार कोटाको सीमा तोक्न आवश्यक भएकोबारे बताउँदै आएका छन् । बजार मूल्य प्रतितोला झण्डै २ लाखकै हाराहारी नजिक पुगेको बताउँदै नेपाल रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार मूल्य बढी भएकाले यतिबेला सर्वसाधारणबाट सुन बिक्री भइरहेको जनाउँछन् ।
तर सधै यस्तो स्थिती नहुने सिजनमा सुनको अधिक माग पनि बढ्ने उनले बताए । अध्यक्ष सुनारकाअनुसार शुरुमा वि.सं २०६८ सालमा दैनिक २० किलो सुनको कोटा निर्धारण गरिएको हो । ‘तर यसपछि अहिलेसम्म आइपुग्दा बजारको आकार चार गुणा बढीसक्यो, व्यवसायी संख्याका हिसावले धेरै वृद्धि भएको छ, बजारको आकार पनि बढ्यो, यस हिसावले अहिले माग र आपूर्तीको असन्तुलन चाँहि हो’ उनले भने,– ‘तर यस्तो विशेष परिस्थितीलाई हेरेर मात्रै आँकलन गर्न सकिदैन, नेपाल राष्ट्र बैंकसँग कोटा बढाउन माग गरेका छौं, बरु त्यसलाई सिजन र अफसिजन भनेर छुट्याउन व्यवसायीक संस्थाहरुले सुझाव पनि दिएका छौं । प्रायः विवाह, ब्रतबन्ध, चाडपर्वमा सुनको माग बढी रहन्छ, त्यसबेला आपूर्ती पनि सोही ढंगको गर्ने, जुनबेला अफसिजन छ माग छैन भने आयात पनि कम गर्ने ।’ यसर्थ अहिलेको कोटा प्रणालीअन्तर्गत जाँदा आपूर्तीअनुसारको असन्तुलन भएको उनको भनाइ छ ।
अबको परिमार्जित कार्यविधिले कोटा प्रणालीमा पुर्नविचार गरेर विवाहको मौसममा बढी र वेमौसममा कम हुने व्यवस्था मिलाउन जरुरी भएकोतर्फ सम्बद्ध निकायको ध्यानाकर्षण जानुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का उपाध्यक्ष (एशोशिएट) रत्न तथा आभूषण महासंघका निवर्तमान अध्यक्ष ज्योत्सना श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘अहिले सुन सबैलाई पर्याप्त छैन, अहिले मुख्य समस्या कच्चा पदार्थ नपुगेर हो, यसलाई व्यवस्थित गरे सबै समस्या समाधान हुन्छ ।’
सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ लाई समयसापेक्ष बनाउनका लागि परिमार्जनको अन्तिम तयारीमा रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए । राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको संयोजकत्वमा गठित पाँच सदस्य समितिले सो कार्यविधिलाई अन्तिम रुप दिंदैछन् । ‘गत पुस १५ गते गठित समितिले कार्यविधिको खाका लगभग तयार पारेको छ तर सार्वजनिक निर्णय हुन बाँकी छ, सुन दैनिक कोटाबारे पनि कार्यदलले ड्राफ्ट बनाइरहेको छ, यसबारे कार्यविधि आएपछि नै भन्न सकिन्छ’ प्रवक्ता पौडेलले भने ।
कार्यविधिको प्रतिवेदन तयार गर्ने क्रममा सो समितिले सम्बन्धित संघ, संस्थाबाट सुझावसमेत लिएका र सुझावलाई हेरेर प्रतिवेदन बनाएपछि यसलाई राष्ट्र बैंक, वाणिज्य मन्त्रालयसँगको छलफलपछि नीतिगत परिवर्तन गरिने संयोजक नेपालले बताए । सुन आयातको सन्दर्भमा उनले विदेशी मुद्रा सञ्चितिमा चुनौतीले मुलुकलाई चुनौती हुने भएकाले यसमा विचार गरेर व्यवस्था गरिने जनाए ।
सञ्चितिमा दबाब पर्दा सुन आयातको कोटामा घटबढ
मुलुकमा विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि नेपाल राष्ट्र बैंकले वि.सं २०७८ फागुन तेस्रो सातातिर सुन आयातको सीमा घटाएको थियो । त्यसबेला एकिकृत परिपत्र –२०७८ संशोधन गर्दै दैनिक २० केजी सुन आयात घटाएर दैनिक १० केजिमा झा¥यो । सुन आयातमा दैनिक आधा परिमाण कटौती गरेर सञ्चिति दबाबलाई नियन्त्रण गरेको थियो । यसपछि जब ढुकुटीमा विदेशी मुद्रा सञ्चिति बढेपछि सुन आयातको सीमा वि.सं २०८० असोज १० गते फेरी बढाइयो । परिणामस्वरुप फेरी कोटा बढाएर दैनिक २० किलो सुन आयात कार्यान्वयनमा ल्यायो । सुन आयात तथा बिक्री वितरण सम्बन्धि कार्यविधि, २०६८ लाई संशोधन गरी एकिकृत परिपत्र–२०७९मार्फत आयातीत सुनको कोटा बढाएको थियो ।
सुन धितोमा कर्जा ७१ अर्ब बढी
पछिल्लो समय सुनचाँदीको मूल्य आकाशिएसँगै यसलाई धितो राखेर कर्जा लिने क्रमपनि बढेको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको फागुनसम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरुले सुन धितोमा ७१ अर्ब १९ करोड १७ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेका छन् । वाणिज्य बैंकहरुले ६५ अर्ब ६८ करोड हाराहारीमा सुन धितोमा कर्जा गएको छ । यस्तै विकास बैंकहरुबाट सुन धितोमा ४ अर्ब ४९ करोड रुपैयाँ लगानी भएको छ भने वित्त कम्पनीमार्फत १ अर्ब १ करोड रुपैयाँ बराबरको लगानी भएको छ ।
अधिकांशले सुनलाई वचतका रूपमा पनि किनेर राख्ने गर्छन् । खाँचो पर्दा गर्जो टार्न यसलाई बैंकमा धितो राखेर ऋण लिने समेत गरेका छन् । यतीबेला सुनको मूल्य बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुमा पनि सुन धितोमा कर्जा प्रवाह बढेको छ ।  अहिले सुनको मूल्य बढेर प्रतितोला २ लाख रुपैयाँकै आसपासमा छ । वैशाख ९ गते मंगलबार तोलाको एक लाख ९७ हजार ९०० मा कारोबार भएको सुन वुधबार (वैशाख १० गते) प्रतितोला १ लाख ९० हजार ४०० मा खरिदबिक्री भएको थियो । ‘सुन धितो कर्जा अरुभन्दा झन्झटीलो हुन्छ । सुन जाँच गर्न सक्ने प्राविधिक पनि चाहिन्छ । यसको व्यवस्थापनि गरिएको छैन, यस्तो कर्जाको माग पनि खासै आउदैन, आएपनि नदिने भनेपछि दिने बैंकमा जान्छन्’ एक बैंकरले भने । यद्यपी सुन कर्जामा जोखिम बढ्न थालेपछि कतिपय बैंकले सुनमा लगानी गर्न छाडेको पनि सुनिन्छ ।
जबकी, सुन धितोमा कर्जा दिने यो प्रडक्ट एकदम लोकप्रिय छ । विशेष गरेर गाउँघरमा सामाजिक आवश्यकता जस्ता गर्जो टार्न आफूसँग भएका १–२ तोला सुन धितो राख्ने गर्छन् । यसमा प्रक्रिया पनि सहज हुन्छ । सुनको जाँच गरिन्छ । यसपछि बैंकले कतिसम्म कर्जा दिने भन्ने आन्तरिक कार्यविधि पनि हुन्छ । सोही आधारमा हरेक शाखामार्फत यस्तो कर्जा प्रवाह भएको छ । ऋणीले १ लाख सुनको बजार मूल्यका आधारमा ५० प्रतिशतसम्म कर्जा पाउने गर्छन् । बैंकहरुलाई सुनमा लगानी गर्न जोखिम नभए पनि यससम्बन्धि विज्ञ र नियत सफा भएको व्यक्तिले सुन जाँच गर्न जरुरी भएको बैंकरहरु बताउछन् । किनभने केही वर्षअघि मात्रै एक बैंकका कर्मचारीको खराब नियतले गर्दा करोडौंको सुन हिनामिना भएको थियो ।
रामु पौडेल, प्रवक्ता, नेपाल राष्ट्र बैंक
आयात तथा बिक्री वितरण कार्यविधि २०६८ लाई समयसापेक्ष बनाउन परिमार्जनको अन्तिम तयारी छ । राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले सो कार्यविधिलाई अन्तिम रुप दिंदैछ । समितिले कार्यविधिको खाका लगभग तयार पारेको छ । तर सार्वजनिक निर्णय हुन बाँकी छ । सुन दैनिक कोटाबारे पनि कार्यदलले ड्राफ्ट बनाइरहेको छ । यसबारे कार्यविधि आएपछि नै भन्न सकिन्छ ।
You might also like

Comments are closed.