लोमान्थाङ । समुद्री सतहबाट ४,००० मिटरको उचाइमा अवस्थित दुर्गम हिमाली क्षेत्र, उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरू (एफ.सी.एच.भी.) लाई लक्षित गरी दुईदिने जेष्ठ नागरिक स्याहार तालिम सफलतापूर्वक सम्पन्न भएको छ। नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेसन (NIRI) ले स्विट्जरल्यान्डस्थित कलश फाउन्डेसनको आर्थिक सहयोगमा २०८२ बैशाख ३० र ३१ गते (१३–१४ मे २०२५) उक्त तालिम आयोजना गरेको हो।
यो तालिम कार्यक्रम NIRI का सामाजिक विज्ञान विभागका निर्देशक तथा अनुसन्धान परियोजनाका प्रधान अन्वेषक डा. तुलसी आचार्यको नेतृत्वमा सञ्चालित परियोजनाको एक अभिन्न अंग हो। यस परियोजनाले लोमान्थाङ गाउँपालिकामा बसोबास गर्ने जेष्ठ नागरिकहरूको जीवनस्तर मूल्याङ्कन गर्न जनसङ्ख्यामा आधारित सर्वेक्षण गर्ने लक्ष्य राखेको छ।
तालिममा गाउँपालिकाका पाँचवटै वडाबाट २७ जना महिला स्वास्थ्य स्वयंसेविका, अनुसन्धान सहायकहरू तथा स्थानीय सरकारी अधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। NIRI का सामान्य चिकित्सक तथा परियोजना प्रबन्धक डा. पुष्पमणि खराल र प्रशासन अधिकृत तथा सह-अनुसन्धानकर्ता सुरज पराजुलीले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
तालिमका मुख्य आकर्षणहरू:
आकस्मिक अवस्थाहरू (जस्तै: सास फेर्न गाह्रो हुने, मुटुको आघात, पिसाब रोकिने, पेट दुख्ने) मा प्राथमिक उपचार विधि।
शारीरिक तथा मानसिक स्वास्थ्य संकेतकहरू (जस्तै: अनुहारको भाव, शारीरिक चालढाल, छालाको रंग, चेतनशीलता, थकाइ) को पहिचान।
बेसिक लाइफ सपोर्ट (BLS) सहित कार्डियोपल्मोनरी रिससिटेसन (CPR) को प्रयोगात्मक अभ्यास ।
समुदायमा आधारित अभ्यास: टोलीले स्थानीय जेष्ठ नागरिकहरूको सामान्य स्वास्थ्य परीक्षण गर्दै परियोजनाबारे जानकारी प्रदान गर्यो ।
जेष्ठ नागरिकहरूसँग प्रभावकारी संवाद गर्ने सीप विकास ।
यो तालिम लोमान्थाङका सम्पूर्ण स्वयंसेविकाहरूका लागि यस प्रकारको पहिलो अनुभव भएको बताइएको छ। परियोजनाका सह-अनुसन्धानकर्ता सुरज पराजुलीले भने , “जेष्ठ नागरिकहरूबाट उनीहरूको जीवनका अनुभवहरू सिक्न अनुसन्धान गर्नु अत्यन्त जरुरी छ। लोमान्थाङ जस्तो दुर्गम र उच्च हिमाली क्षेत्रहरूमा उनीहरूको आवश्यकता र जीवनकथा अनौठा र मौलिक छन्। यो परियोजनामार्फत जेष्ठ नागरिकहरूको जीवनको गुणस्तर बुझ्न र नीति निर्माणमा उपयोगी सिफारिसहरू तयार गर्ने हाम्रो लक्ष्य छ, जसले वर्तमान र भविष्य दुवै पुस्तालाई लाभ पुग्नेछ।”
तालिम संयोजक तथा सह-अनुसन्धानकर्ता डा. पुष्पमणि खरालले स्वयंसेविकाहरूको सक्रिय सहभागिता र गाउँपालिकाको प्रभावकारी समन्वयले आफूहरू उत्साहित भएको बताए । कलश फाउन्डेसनकी अध्यक्ष डा. सेरेना हार्टम्यानले स्वयंसेविकाहरूको प्रतिबद्धता र जेष्ठ नागरिकहरूप्रतिको समर्पणको प्रशंसा गरे ।
लोमान्थाङ गाउँपालिकाका जनस्वास्थ्य संयोजक तेन्जिङ नोर्बु गुरुङले उच्च हिमाली क्षेत्रहरूमा नीति निर्माणका लागि यस्ता अनुसन्धानको महत्व औंल्याए । गाउँपालिकाका अध्यक्ष श्र ताशी नोर्बु गुरुङले यस अनुसन्धान परियोजनामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै दुर्गम क्षेत्रका जेष्ठ नागरिकहरूप्रति ध्यान दिएकोमा NIRI को प्रयासको सराहना गरे ।
तालिम कार्यक्रम सहभागीहरूको योगदानको सम्मान गर्दै प्रमाणपत्र वितरण समारोहका साथ समापन भएको थियो ।
Comments are closed.