काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले नीतिगत सुधारका लागि पहल गरिरहेको छ । यसैक्रममा महासंघले सरोकारवाला विभिन्न निकायहरुमा भेटघाट र छलफललाई तिब्रता दिइरहेको छ । हालैमात्र ११औं वार्षिक साधारणसभा सम्पन्न गरेको महासंघले व्यावसायिक हितका लागि नीतिगत सुधार अपरिहार्य रहेको निश्कर्ष निकालेको छ ।
यसैक्रममा सुनचाँदी तथा आभुषण व्यवसायको नीतिगत सुधारको माग गर्दै महासंघका अध्यक्ष किसान सुनारले बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दहालसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा अध्यक्ष सुनारले सुनचाँदी आभूषण व्यवसायसँग सम्बन्धित हालका अव्यवस्थित कानुनी प्रावधानहरू संशोधन गर्न तथा व्यवसायमैत्री नीतिहरू निर्माणका लागि सरोकारवाला संघसंस्थाहरूको सुझावलाई समावेश गर्न आग्रह गरेका छन् ।
महासंघले व्यवसायमा देखिएका व्यवहारिक समस्याहरू समाधान गर्न आवश्यक कानुनी तथा नीतिगत आधारहरू समेटिएको ‘आभूषण व्यवसायमा कानूनी व्यवस्था’ शीर्षक पुस्तक पनि महानिर्देशक दहाललाई हस्तान्तरण गरेको छ ।
उक्त पहलले सुनचाँदी तथा आभूषण व्यवसायको दिगो विकास र पारदर्शी व्यवस्थापनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
महासंघले यस अगाडि बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानलाई भेटेर प्रतिवेदन हस्तान्तरण गरेको थियो ।
संसदीय समितिले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न आवश्यक कानूनी प्रबन्ध मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको छ ।
महासंघको टोलीले यस अगाडि प्रधानमन्त्री, अर्थमन्त्री लगायत अन्य सरोकारवालाहरुसँग पनि निरन्तर भेट गरी आफ्ना मागहरु अवगत गराउँदै आइरहेको अध्यक्ष किसान सुनारले जानकारी दिए ।
Comments are closed.