घट्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार १०० रुपैयाँमा कायम भएको छ। यो मूल्य आइतबारको १ लाख ९१ हजार ८०० रुपैयाँभन्दा ७ सय रुपैयाँ कम हो। त्यस्तै, तेजाबी सुनको मूल्य पनि घटेर तोलामा १ लाख ९० हजार ४५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

यसैबीच, चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। आइतबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा भन्सार मूल्यका आधारमा दैनिक दर तय गर्दै आएको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.