एन.प्याब्सनमा संगठन विस्तारमा तीव्र , नयाँ सदस्य विद्यालयहरूको आकर्षण

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन. प्याब्सन) सुनसरी जिल्ला तदर्थ समितिले संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै जिल्लाभरिका नयाँ सदस्य विद्यालयहरूलाई औपचारिक स्वागत गरेको छ। शनिबार इनरुवाको लक्ष्मी पार्टी प्यालेसमा आयोजित स्वागत तथा पत्रकार भेटघाट कार्यक्रममार्फत २१ वटा नयाँ निजी विद्यालयहरू एन. प्याब्सनमा आबद्ध भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा एन. प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष एवं संगठन विभाग प्रमुख पाण्डव हमाल ठकुरीले शिक्षा क्षेत्रको संस्थागत सुदृढीकरणप्रति संगठन गम्भीर भएको बताए। उनले विद्यालय शिक्षा विधेयक (ऐन) २०८० सम्बन्धी धारणा व्यक्त गर्दै कम्पनीमा दर्ता भई ऐन र नियमावली अनुसार सञ्चालनमा रहेका विद्यालयहरूलाई अफ्ठ्यारो नपर्ने स्पष्ट पारे।

**सुनसरी तदर्थ समिति संयोजक खगेन्द्र के.सी.ले जिल्लामा संगठनप्रतिको आकर्षण बढ्दै गएको र निकट भविष्यमा एन. प्याब्सन मूल संगठनको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे। उनका अनुसार हालसम्म २१ वटा विद्यालयले औपचारिक सदस्यता लिइसकेका छन् भने आगामी केही महिनाभित्र थप विद्यालयहरूको सहभागिता सुनिश्चित भएको छ।

त्यसैगरी, सोही दिन झापा जिल्लामा पनि नयाँ सदस्यता विस्तार कार्यक्रम सम्पन्न भयो। झापा जिल्ला संयोजक धर्मराज माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ९ वटा नवप्रवेशी विद्यालयहरूलाई प्रमाणपत्र वितरण गर्दै स्वागत गरिएको थियो। कार्यक्रममा संगठन विभाग प्रमुख ठकुरीले स्वागत मन्तव्यसहित शुभकामना पनि व्यक्त गरे।

कार्यक्रममा एन. प्याब्सनकी संस्थापक तथा केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणाले शुभकामना सन्देश पठाउँदै देशभर संगठन विस्तारलाई तीव्रता दिने बताइन्। उनले झापा, सुनसरी लगायत अन्य जिल्लाहरूमा विद्यालयको शैक्षिक गुणस्तर र क्षमतामा सघाउ पुर्‍याउँदै सदस्यता अभियानलाई थप सशक्त बनाइने योजना साझा गरिन्।

कार्यक्रममा केन्द्रीय सदस्यहरू, प्रदेश सह–सचिव, मोरङ र सप्तरीका अध्यक्ष पदाधिकारीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कोशी प्रदेश केन्द्रीय संयोजक तथा उपाध्यक्ष कुमार भट्टराईका अनुसार झापा र सुनसरीमा सयौं नयाँ विद्यालयहरूले एन. प्याब्सनमा सदस्यता लिन तयारी गरिरहेका छन्।

एन. प्याब्सनले हालै गठन गरेका तदर्थ समितिहरू मार्फत संगठन विस्तार, सदस्यता अभिवृद्धि तथा शैक्षिक गुणस्तर वृद्धिमा जुटिरहेको जनाएको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.