पोखरामा गुणस्तरीय र पर्यटकमैत्री बसपार्क सञ्चालन हुँदै

पोखरा । भौगोलिक रूपमा नेपालको मध्यभागमा अवस्थित पोखरा प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक गतिविधिका कारण विश्वभरका पर्यटकहरूका लागि लोकप्रिय गन्तव्य बन्न सफल भएको छ। यसै सन्दर्भमा, २०८० सालको चैत्र ४ गते पोखरालाई औपचारिक रूपमा “नेपालको पर्यटनको राजधानी” घोषणा गरिएको छ।

पर्यटन राजधानीको रूपमा विकास हुँदै गरेको पोखरामा पर्यटकहरूको सहजता र सुविधा सुनिश्चित गर्न गुणस्तरीय पर्यटक बसपार्कको आवश्यकता महसुस गरिँदै आएको छ। नेपाल भ्रमण वर्ष १९९८ का अवसरमा पर्यटन व्यवसायीहरूको विशेष पहलमा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको राष्ट्रबैंक चोकस्थित जग्गामा नेपालको पहिलो पर्यटक बसपार्क स्थापना गरिएको थियो।

यस बसपार्कको प्रारम्भिक संरचना नेपाल पर्यटन बोर्ड, पर्यटकीय संघसंस्था तथा व्यवसायीहरूको सक्रियतामा तारबार र अन्य आधारभूत सुविधासहित निर्माण गरिँदै सञ्चालनमा ल्याइएको थियो।

बसपार्कलाई थप सुविधा सम्पन्न र पर्यटक मैत्री बनाउने उद्देश्यले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत टेण्डर आह्वान गरी हालको संरचना निर्माण गरिएको हो।

हाल पोखरामा सार्वजनिक यातायातका लागि दुई वटा बसपार्कहरू सञ्चालनमा रहेका छन्। तर, राष्ट्रबैंक चोकस्थित यो बसपार्कलाई विशुद्ध पर्यटक बसपार्कका रूपमा मात्र सञ्चालन गर्ने उद्देश्यले पोखरा उपत्यका नगर विकास समितिले हालै टेण्डर आह्वान गरेको छ। उक्त टेण्डरमा निजी व्यवसाय सञ्चालन तथा टिकट काउन्टर स्थापना गर्न नपाउनेजस्ता स्पष्ट सर्तहरू उल्लेख गरिएको छ।

पोखरा पर्यटन परिषद्ले समितिको यो पहललाई स्वागत गर्दै, पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा सर्तहरूको पूर्ण पालना हुने गरी बसपार्कलाई गुणस्तरीय र पर्यटक मैत्री बनाउन सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।

पोखरा उपत्यका नगर विकास समिति, पर्यटन मन्त्रालय, पर्यटन व्यवसायी तथा स्थानीय तहबीच समन्वयात्मक कार्यमार्फत पोखराको पर्यटन पूर्वाधारलाई थप मजबुत बनाउँदै जाने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.