पोखरा । स्तरीय बस सेवा र हवाई सेवा मार्फत पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् ।
होटल संघ पोखरा नेपालले गत जेठ २९ गतेबाट यही असार २ गतेसम्म पश्चिम नेपालका केही महत्वपूर्ण शहरहरुमा संचालन गरेको जाउँ है पोखरा अभियानको क्रममा उल्लेखित विषय उठेको थियो । व्यवसायीहरु आपसी सहकार्य गर्दै स्तरीय बस सेवा संचालन गर्न सकिने र हवाई सेवा कम्पनी र स्थानीय निकायसँग समन्वय गरी पश्चिम नेपालका मुख्य शहर र पोखरा जोड्ने गरी हवाई सेवा संचालन गरिनुपर्ने विषय कार्यक्रममा चर्चा गरिएको थियो ।
आयोजक संघका अध्यक्ष एवं अभियानका संयोजक लक्ष्मण सुवेदीले पर्यटनका लागि पहुँच (कनेक्टिभिटी) पहिलो आबश्यकता भएको भन्दै स्तरीय वस सेवा र हवाई सेवा मार्फत् सातै प्रदेश जोड्ने संघको उद्देश्य रहेको बताए । देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएको र आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप अभियानलाई निरन्तरता दिइएको पनि उनले स्पष्ट पारे । पोखरा आउने पर्यटक मध्ये दुई देखि तीन प्रतिशत नेपाली हुने गरेकोमा अभियान संचालन पछि हाल त्यस्तो आँकडा ४० प्रतिशत पुगेको अध्यक्ष सुवेदीले बताए ।
उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबद्र्धनमा यो अभियान संचालन गरिएको हो । पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन अभियान सहयोगी हुने विश्वास गरिएको छ । पोखराको होटल क्षेत्रमा पाँच खर्ब भन्दा बढी हाराहारीको लगानी रहेको, एक हजार दुई सय होटलमा ४० हजार बेड रहेको र करिव २० हजार जनाले रोजगारी पाएको संघका अध्यक्ष सुवेदीले कार्यक्रममा जानकारी दिएका थिए ।
Comments are closed.