प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर, यी विषयमाथि छलफल हुँदै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने र विभिन्न ६ वटा मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ।

प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आज सांसदहरूले समसामयिक विषय र सरकारका कामकारबाहीबारे प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् र प्रधानमन्त्री ओलीले त्यसको जवाफ दिनेछन्।

यसका साथै, आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न ६ वटा मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि समूहगत छलफल प्रारम्भ हुनेछ। छलफलका लागि निम्न मन्त्रालयहरूको कार्यसूची तय गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

युवा तथा खेलकुद मन्त्रालय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

यी मन्त्रालयहरूको बजेटमाथि सांसदहरूले खर्चको प्राथमिकता, विनियोजित रकमको पर्याप्तता, नीति तथा कार्यक्रमसँगको तालमेल र कार्यान्वयनको पक्षमा आफ्ना धारणा राख्ने र प्रश्न उठाउनेछन्। जनसरोकारसँग प्रत्यक्ष जोडिएका यी मन्त्रालयहरूको बजेटमाथिको छलफललाई विशेष चासोका साथ हेरिएको छ।

You might also like

Comments are closed.