रुपन्देहीमा झन्डै २ अर्बको लगानीमा फ्रेन्च फ्राइज उद्योग सञ्चालन, १० हजार किसान आवद्ध

काठमाडौँ। रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–४ मा झन्डै २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ। ‘फर्स्ट च्वाइस फुड्स प्रालि’द्वारा सञ्चालित यो उद्योगले नेपालमै पहिलोपटक आधुनिक प्रविधिबाट फ्रेन्च फ्राइज उत्पादन गर्दै व्यावसायिक रुपमा बजारमा ल्याएको हो।

उद्योगका प्रवर्द्धक कृष्णप्रसाद पौडेल, जो गुल्मीको मदाने गाउँपालिका–६ स्थायी बासिन्दा हुन् र हाल बुटवलमा बसोबास गर्दै आएका छन्, को अगुवाइमा उद्योग सञ्चालनमा आएको हो।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘फर्स्ट च्वाइस फुड्स’ अन्तर्गत उत्पादन सुरु गरिएको घोषणा गरेका हुन्। उद्योगले आफ्ना उत्पादनहरू ‘हिमालयन क्रिप्स’ र ‘हाम्रो फ्राइज’ ब्रान्डमार्फत बजारमा ल्याइसकेको छ।

५ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगले विशेषगरी आलुबाट फ्रेन्च फ्राइज, आलु चिप्सलगायतका परिकार उत्पादन गरिरहेको छ। उद्योगका अध्यक्ष पौडेलका अनुसार, हालसम्म १९ जिल्लाका करिब १० हजार आलु किसानहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उद्योगसँग आबद्ध भएका छन्।

सञ्चालक पौडेलले जानकारी दिएअनुसार, कम्पनीको दीर्घकालीन योजना अन्तरगत उत्पादन विस्तार गर्दै यूएई, मलेसिया, साउदी अरेबियालगायत खाडी राष्ट्रहरूमा फ्रेन्च फ्राइज निर्यात गर्ने तयारी भइरहेको छ। उनले उद्योगले नेपालमा कृषि र प्रसंस्करण उद्योगबीचको दूरी घटाउने, किसानलाई उचित मूल्य सुनिश्चित गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताए।

फर्स्ट च्वाइस फुड्स को यो पहलले नेपालको खाद्य उद्योगमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ। स्थानीय उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने अभियानमा यो उद्योगले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.