प्रधानमन्त्री ओलीले गरे ग्वार्को ओभरपास उद्घाटन, सवारी आवागमन खुला

काठमाडौँ। ललितपुरको व्यस्त क्षेत्र ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपासको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थिति रहेको थियो।

प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर ओभरपास उद्घाटन गरेका हुन्। उद्घाटनसँगै ओभरपासलाई सार्वजनिक सवारी तथा निजी सवारी साधनका लागि खुला गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ।

ग्वार्को ओभरपास निर्माणको लागि २०७८ साल फागुन १२ गते ठेक्का सम्झौता गरिएको थियो। त्यसयता निर्माण सुरु भए पनि विविध प्राविधिक तथा प्रशासनिक कारणले गर्दा परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ।

यो ओभरपास काठमाडौं–ललितपुर मुख्य सडकखण्डमा पर्ने अत्यन्तै जाम ग्रस्त क्षेत्रमा निर्माण भएको हो, जसले यस क्षेत्रको सवारी आवागमनमा उल्लेखनीय सहजता ल्याउने अपेक्षा गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, ओभरपास निर्माणसँगै ट्राफिक व्यवस्थापन थप प्रभावकारी हुने र दैनिक हजारौँ यात्रु तथा सवारी चालकलाई सहजता मिल्नेछ। उद्घाटनपछि स्थानीयवासी तथा व्यवसायीहरूले ओभरपास सञ्चालनमा आएकोमा खुसी व्यक्त गरेका छन्।

You might also like

Comments are closed.