सरकारलाई पुँजीबादी संस्कार र संस्कृति बदल्न सांसद बरालको सुझाव

सन्देश श्रेष्ठ
पोखरा । गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले पुँजीबादी संस्कार र संस्कृति बदल्न तीनै तहको सरकारलाई आग्रह गरेका छन् । ट्रेकिङ इक्युपमेन्ट सप एशोसियसन (टेसा) पोखराको २२ औं साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बरालले राणा र पञ्चेहरुले अप्नाएको पुँजीबादी संस्कार र संस्कृतिले देश विकास र समृद्धी नआउने भएकाले त्यसलाई सच्याएर अघि बढ्न आग्रह गरेका हुन् । राज्य प्रणाली परिवर्तन भएपनि अपेक्षा र अभ्यासबीच तादात्म्यता नमिल्दा परिवर्तनको महशुष गर्न जनताले नपाएको उनको भनाई छ । नया प्रणालीमा जनताले नया अनुभूति खोजे तर अभ्यास पुरानै भयो,‘उनले भने,‘अपेक्षा, छिटो, छरितो र गुणातमक भएपनि अभ्यास उहि पहिलेकै जस्तो ढिलो र गुणस्तरहिन्, यसले जनतामा असन्तुष्टी बढाएको छ ।’

सांसद बरालले संकटग्रस्त पुँजीबादको आलोक भित्रबाट समृद्धी नआउने ठोकुवासमेत गरे । विश्वमै संकटग्रस्त अवस्थामा पुगेको पुँजीबादको आलोक भित्रबाट परिवर्तन र समृद्धी सम्भव नहुने उनको ठोकुवा छ । हामी समाजबाद उन्मुखपनि भन्ने,‘उनले भने,‘अनि दुनियामा संकटग्रस्त अवस्थामा रहेको पुँजीबादको आलोक भित्रबाट परिवर्तन गर्न खोज्ने ? यो सम्भव छैन ।’ उनले अब समाजबादी मोडलको अभ्यास गर्न जरुरी रहेको औंल्याए ।

समाजबादी ब्यबस्थाको आलोक भित्रबाट काम गर्न सकेमात्र अपेक्षा पूरा गर्न सकिन्छ,‘उनले भने,‘फेरिपनि पुँजीबादी आलोकबाट अगाडि बढ्न खोजियो भने अगाडि बढ्न सकिदैन, अब पुँजीबाद आलोक भित्रको संस्कृति र संस्कार बदल्नुपर्छ ।’ सांसद बरालले अहिलेको राज्य प्रणाली विगतको राज्य प्रणालीको निरन्तरता नभएको बताए । नया प्रणालीमा भएकैले फड्को मार्न समय लागेको बताउँदै उनले भने,‘हामी विगतको राज्य प्रणालीको क्रम भंग गरेर नया प्रकारको राज्य प्रणालीको अभ्यास गर्ने क्रममा छौं, यो बेला अलिअलि अलमल हुने कुरा, अलिअलि तलमाथि हुने कुरा त्यतिधेरै अन्यथा होइन, यो स्वाभाविक नै हो, तर सँधै यसरी छुट भने पाईंदैन ।

jutta mela

अभ्यास र अपेक्षाको बिचमा अहिले ठूलो दरार छ । जबसम्म अभ्यास र अपेक्षाका बिचमा ट्याली गर्न सक्दैनौं तबसम्म जनताको अपेक्षा पूरा गर्न सकिदैन ।

सांसद बरालले पर्यटनमा पनि अन्य क्षेत्रमा जस्तै छलाङ मार्न नसकिएको बताए । सरकारले मात्र होइन दक्ष र विज्ञ भनिएका व्यक्ति र संस्थाहरुसमेत छलाङ मार्न नसकेको उनले टिप्पणी गरे । उनले जन अपेक्षा अनुरुप नवीन सोंच र फरक तरिका अप्नाएर पर्यटनमा गुणात्मक फड्को मार्न व्यवसायीलाई सुझाव दिए । त्यसो गरेमात्रै सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्राउन सकिने उनले बताए ।

सांसद बरालले जनप्रतिनिधिलाई राज्यको क्षमता भन्दा बढी सुविधा दिइएको बताए । यद्वपी यो आवश्यक्ता र समानताका हिसाबले ठीक भएको उनको भनाई छ । उनले पदीय दायित्व अनुसारको काम गर्न नसकेको खण्डमा जनप्रतिनिधिलाई दिइएको सुविधा खोस्नु पर्ने बताए । उनले सामाजिक न्यायसहितको समाजबादी समृद्धी अहिलेको सरकारको अभियान भएको बताए ।

पर्यटन विज्ञ समूहका सदस्य बासु त्रिपाठीले प्रदेश सरकार र पर्यटन व्यवसायीहरु सहकार्य नहुनु दुर्भाग्य भएको बताए । सरकार र पर्यटन व्यवसायी सँगसँगै हिंड्नुको विकल्प छैन,‘उनले भने,‘उल्टो दिशा त नभनिहालौं होला, तर एउटै दिशामा हिंडेपनि प्रदेश सरकार र हामी पर्यटन व्यवसायी सँगसँगै हिंड्न सकेका छैनौं, हामी सँगसँगै हिंड्ने प्रयास भने गरिरहेका छौं ।’ प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसँग पर्यटन व्यवसायीको बेमेल भएको प्रसंग जोड्दै उनले कटाक्ष गरेका हुन् ।

भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश संयोजक अग्नी कँडेलले पर्यटन व्यवसायीमा एकता नहुँदा पर्यटनमा सोंचेजस्तो फड्को मार्न नसकिएको भन्दै पर्यटन व्यवसायीलाई एकजुट भएर हातेमालो गर्न आग्रह गरे ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले पर्यटनलाई उद्योगको रुपमा विकास गरेर लैजानुपर्ने र पर्यटनमा आवश्यक सामग्री आफै उत्पादन गर्नेतर्फ लाग्नुपर्ने बताए ।

पर्यटन वोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले पर्यटनमा आवश्यक सामग्री आफै उत्पादन गर्नेतर्फ लाग्न आग्रह गर्दै त्यसका लागि पर्यटन वोर्डले सघाउने प्रतिबद्धता जनाए ।

टेसाले आफ्नो २२ औं साधारण सभा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ ह्याङजाकोटमा गरेको हो । ग्रामिण पर्यटनको प्रवद्र्धन गर्नका लागि घरबास कार्यक्रमसहित ह्याङ्जाकोटमा कार्यक्रम गरेको टेसा पोखराका अध्यक्ष रामचन्द्र गिरीले बताए ।

You might also like

Comments are closed.