असार १५ नेपाली संस्कृति र समृद्धिको साझा पर्व हो: प्रल्हाद दाहाल

अध्यक्ष, नेपाल डेरी एसोसिएसन

हाम्रो देश चाड, पर्व, रितिरिवाज, मौलिकताको धानी हो । यहाँ हरेक खाने कुरादेखि लिएर पेशा व्यवसायसम्मका पर्व दिवस मनाइन्छ। खिर खाने, दही चिउरा खाने, खित्त्रो खाने, घ्यू चाकु खाने, नयाँ चामलको न्वागी खाने, सेल, मासु, कन्दमुल सखरखण्ड, पिँडालु, तरुल आदि खानलाई नै महत्व दिई पर्वहरु मनाइने गरिएको छ । पहिले पहिले भनेको बेला सबैको सबै कुरा खान पहुँच नहुने र सन्तुलित आहारलाई पनि यी चाड पर्वले ठूलो सहयोग पुर्‍याएको थियो । तर आज हामी यी सबै यस्ता महत्त्वपूर्ण कुराहरु छोडेर आगान्तुक रितिरिवाजको पछि लागेर आफ्ना परम्परा छोडिरहेका छौँ । यो एकदम नराम्रो र घातक हो । अब हामी सबै मिलि अरुको देखासेखी होइन आफ्नै मौलिक परम्परा जोगाई चाड पर्व मनाउने गर्नुपर्छ । बाहिरबाट हाम्रो देशमा यस्तै कुराहरु हेर्न बुझ्न पर्यटक आउने हो। ठूला-ठूला घर, अन्य संरचना उनीहरुकै देशमा टन्नै हुन्छन् । त्यसकारण हामीले आफूसँग भएका कुरामा गर्व गर्ने हो । अरुको कुरा देखेर नक्कल गरेर हामी कहिँ पुग्दैनौ । त्यतातिर हामी लाग्नै हुँदैन । जे छ त्यो बचाऔं, भावी पुस्तालाई हस्तान्तरण गरौं । यसमा हामी सबैको हित हुन्छ ।

नेपालको अर्थतन्त्र र सामाजिक संरचनामा कृषि र दुग्ध क्षेत्रको स्थान सधैं विशेष छ । असार १५ ले नेपाली किसानका श्रम, संस्कृति र नेपाली दुग्ध संस्कृतिको समृद्ध विरासतलाई सँगसँगै समेटेको छ । ‘मानो रोपेर मुरी फलाउने’ पर्वका रूपमा स्थापित असार १५ नेपाली कृषकका लागि कृषि कर्मको उत्सव मात्र नभई सांस्कृतिक पहिचान र आपसी मेलमिलापको प्रतीक समेत बनेको छ ।

दूध र दुग्धजन्य पदार्थको प्रबर्द्धन र विकासलाई राज्यको नीति र योजनासँग गहन रूपमा जोड्न सके नेपाली अर्थतन्त्रका मेरुदण्ड बनेका कृषक र साना–मझौला डेरी उद्योगहरूलाई दीर्घकालीन सवलता प्रदान गर्न सकिन्छ । तर दुःखको कुरा, राज्य पक्षबाट अझै यस क्षेत्रलाई आवश्यक जति नीति र कार्यान्वयनका माध्यमबाट सम्बोधन गर्न सकिएको छैन । त्यसैले नीति निर्माणदेखि कार्यान्वयनसम्म सरोकारवाला पक्षहरूबीच संवाद र सहकार्य आवश्यक छ । कृषक र डेरी उद्योगका साझा मुद्दाहरूलाई नीति र बजेटमै समेटेर अघि बढ्न सके दुग्ध क्षेत्र समग्र कृषि अर्थतन्त्रका लागि कोशेढुंगा सावित हुन सक्छ ।

यही सन्दर्भमा नेपाल डेरी एसोसिएसनद्वारा प्रत्येक वर्ष असार १५ मा आयोजित दही–चिउराको प्रबर्द्धन कार्यक्रम विशेष महत्व राख्छ । हरेक वर्ष जस्तै यसवर्ष पनि कृषि तथा पशुपन्छी विकासमन्त्रीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा दही–चिउरासँग जोडिएको सांस्कृतिक, सामाजिक र आर्थिक महत्वलाई उजागर गरिएको छ । नेपाल डेरी एसोसिएसनको अनुमानअनुसार यस वर्ष असार १५ का दिन नेपालभर करिब ८० लाख लिटर दही खपत हुने र त्यसबाट करीब १ अर्ब ४० करोड रुपैयाँको आर्थिक कारोबार हुने तथ्य आफैंमा उल्लेखनीय छ । यो तथ्य दही–चिउरासँग जोडिएको नेपाली सांस्कृतिक पर्वको अर्थतन्त्रलाई समेट्न र राष्ट्रिय नीति–निर्माणका क्रममा सम्बोधन गर्न आवश्यक रहेको सन्देश दिन्छ ।

दही–चिउरासँग नेपाली सांस्कृतिक पहिचान र सामाजिक मेलमिलापका गहिरा पक्षहरू गाँसिएका छन् । विवाह, व्रतबन्ध र पूजाजस्ता धार्मिक र सांस्कृतिक कर्महरूमा दही–चिउराको विशेष स्थान छ भने असार १५ ले नेपाली कृषकका श्रम र समर्पणप्रति कृतज्ञताको सन्देश प्रवाह गर्छ । यस पर्वमार्फत नेपाली गाउँ र सहरका समुदायहरू आपसी मेलमिलाप, सहकार्य र सहिष्णुताका पक्षहरू उजागर गर्दै नेपाली संस्कृति र मौलिक पहिचानलाई जोगाइ राख्छन् ।

स्वास्थ्यका दृष्टिकोणबाट हेर्ने हो भने दही–चिउराको विशेष महत्व छ । दहीमा भएका प्रोबायोटिक्स र चिउरामा रहेको फाइबरका कारण शरीरका लागि आवश्यक पोषण र पाचन प्रक्रियासमेत सहज बन्छन् । क्याल्सियम, प्रोटिन, भिटामिन बी–१२ लगायतका पोषण तत्वहरूले शरीरलाई सन्तुलन दिन्छन् । दही–चिउराले हड्डी र दाँतलाई बलियो बनाउन, रोग प्रतिरक्षा प्रणाली सुदृढ बनाउन र छालालाई चमकदार राख्न सघाउँछ । त्यसका साथै मानसिक सन्तुलन कायम गरी तनाव कम गर्ने विशेषता समेत छ ।

दही–चिउराले नेपाली संस्कृति र स्वास्थ्यका पक्षहरूलाई आपसी मेलमिलाप र सहकार्यको सुत्रमा बाँध्न सघाएको छ । त्यसैले नेपाली समाजका हरेक पक्षलाई समेटेर असार १५ लाई अझ व्यवस्थित र व्यापक बनाउन सके नेपाली दुग्ध क्षेत्रको समग्र विकासका साथै सांस्कृतिक पहिचान र सामाजिक समृद्धिका पक्षहरूलाई अझ मजबुत बनाउन सकिन्छ । नेपाली संस्कृति र अर्थतन्त्रका पक्षहरूलाई सँगै समेटेर अगाडि बढ्न सके मात्रै असार १५ ले आफ्नो पूर्ण अर्थ र महत्त्व स्थापित गर्नेछ ।

हाम्रो देशको मौलिकता र परम्परा नौलो र हरेक कुराले सुहाउँदो रहेको छ । वर्ष दिन भरी नै केहि न केहि चाडबाड, दिवस, पर्व आदि परिरहेको हुन्छ । यसले हाम्रो देशको पहिचान, रहनसहन आदि झल्काउने काम गरिरहेको छ। हामी सानो छँदा घुम, छत्री, पलास्टिक ओडेर खेतमा रोपाइँ गरेको, गाउँ भरिका मान्छे, आफन्त, नतागोतालाई बोलाई हिलोमा गोरुले जोत्दै, बाजा बचाउँदै , असारे गित गाउँदै एक अर्कामा हिलो खेल्दै, बाजाको तालमा नाच्दै बेडी लगाएर रोपाइँ गरेको हेर्दा उपपात रमाइलो लाग्थ्यो । अझ खेतमा बसेर दही चिउरा, अचार, तरकारी खाँदाको मजा बेग्लै हुन्थ्यो । आज ती खेतमा काम गर्ने बाउसे, रोपार, हली भन्ने शब्दमा मात्र सिमित हुन लागेका छन् । अब हामीले ती कुरालाई जिवन्त राख्न सक्दा मात्र हाम्रो देशको असली पहिचान दिन सकिन्छ । अबको आवश्यकता भनेको नै त्यही हो । हामीले यस्ता चाड, पर्व, रितिरिवाज मान्दै गर्दै धेरै कुरा सँगै भइरहेको हुन्छ । स्वदेशी उत्पादन खपत बढेको हुन्छ, स्वदेशी पैसा विदेश जान रोकिन्छ, देशको पहिचान बच्छ, हाम्रा बालबालिकालाई हाम्रो मौलिकता र परम्पराको जानकारी भई पुस्ता हस्तान्तरण हुन ठूलो सहयोग पुग्दछ । जसले गर्दा हाम्रो चाड पर्वले निरन्तरता पाइरहने छन् ।

हामीले हाम्रो देशको मौलिक परम्परा र संस्कृति बचाउँन सक्दा पर्यटन क्षेत्रको विकास हुने र स्वदेशी उत्पादनको खपत बढ्न सक्छ । हाल नेपालमा दैनिक ७२ लाख लिटर दूध उत्पादन भइरहेको छ । त्यसको ५० प्रतिशत अर्थात ३६ लाख लिटर दुध मात्र बजारमा आएको छ । बाँकी ५० प्रतिशत ३६ लाख लिटर दुध भने अहिलेसम्म पनि गाउँघरमै खपत भएको र बजारमा आउन नसकेको अवस्था छ । उत्पादन भएको सबै दूध बिक्री वितरण हुन नसकी गाउँघरमै किसान आफैंले जवर्जस्ती खपत गरेका छन् । अहिले नेपालमा उत्पादन भएको दूधले हाम्रो बजार धानेको छ । अब यो भन्दा बढी उत्पादन हुँदा बाहिर निर्यात बढाउने वा अन्य विभिन्न दुग्ध पदार्थ बनाई खपत गराउनुको विकल्प छैन । यसमा हामी सबै सरोकारवाला र सरकारी निकाय लाग्न आवश्यक छ ।

You might also like

Comments are closed.