काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार २९ गतेदेखि साढे २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ नामक यो ऋणपत्र बजारमा ल्याउन लागेको हो।
कुल २५ लाख इकाइ ऋणपत्रमध्ये १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १० लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक रूपमा जारी गरिनेछ। प्रत्येक ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ तोकिएको छ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सबै कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो ऋणपत्रमा लगानी गर्न इच्छुक व्यक्तिहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र सीडीएससीको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाट समेत आवेदन दिन सक्नेछन्।
ऋणपत्रको आवेदन दिने अन्तिम मिति छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गतेसम्म तोकिएको छ। यो ऋणपत्रको अवधि १० वर्षको हुनेछ र यसमा वार्षिक ७.५ प्रतिशत ब्याज दर प्रदान गरिनेछ। लगानीकर्ताले निश्चित आयको रुपमा नियमित रुपमा ब्याज पाउनेछन्, जसले दीर्घकालीन स्थिर प्रतिफल खोज्ने लगानीकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
यस ऋणपत्रको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। सिद्धार्थ बैंकले यो ऋणपत्रबाट संकलित रकम आफ्नो भविष्यको दीर्घकालीन वित्तीय व्यवस्थापन, कर्जा विस्तार तथा अन्य बैंकिङ लगानीका क्षेत्रमा उपयोग गर्ने जनाएको छ।
Comments are closed.