नेपाल एसबिआई बैंक असार ३० गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले (नेपाल एसबिआई बैंक) आगामी असार ३० गतेदेखि ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। १० वर्ष अवधि हुने यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ।

बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो। तीमध्ये ६० प्रतिशत (१ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत (१ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता) सर्वसाधारणलाई बाँडफाँट गरिनेछ।

सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

ऋणपत्रमा लगानी गर्न चाहनेले न्यूनतम २५ कित्ता आवेदन दिनुपर्नेछ। अधिकतममा भने उपलब्ध सबै कित्ता माग गर्न सक्ने व्यवस्था गरिएको छ। यो निष्काशन छिटोमा साउन १ गते बन्द हुनेछ भने माग अनुसार ढिलोमा साउन १२ गतेसम्म खुला रहनेछ।

यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखा तथा मेरो शेयर अनलाइन प्रणालीमार्फत सि-आस्बा सुविधाबाट आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ डबल ए (ICRANP IR Double A) प्रदान गरेको छ। यसले बैंकलाई उच्च स्तरको वित्तीय दायित्व पूरा गर्ने क्षमतायुक्त र सुरक्षित संकेत गरेको छ।

ऋणपत्रमा आर्जित ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कटौती गरी भुक्तानी गरिने छ।

नेपाल एसबिआई बैंकको यो ऋणपत्र निष्काशनले बैंकको दीर्घकालीन पूँजी संकलनमा योगदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

You might also like

Comments are closed.