बाढीपहिरोले रसुवागढी नाका ठप्प, चीनसँगको व्यापारिक सम्बन्ध प्रभावित

काठमाडौं । अबिरल वर्षासँगै आएको भीषण बाढीपहिरोले नेपाल–चीन व्यापारिक सम्बन्धको मुख्य प्रवेशद्वार रसुवागढी नाका पूर्ण रूपमा बन्द भएको छ । चीनतर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि व्यापारिक आवागमन तत्कालका लागि रोकिएको छ। यसले अर्बौं रुपैयाँ बराबरको व्यापार प्रभावित भएको छ ।

गएराति सबा तीन बजे चीनतर्फको निरन्तर वर्षाले लेन्दे खोलामा ठूलो बाढी आएर पुलसहितका संरचनामा ठुलो क्षति पुगेको रसुवा प्रहरीले जनाएको छ । बाढीले भन्सार ड्राइपोर्ट, इभी चार्जिङ स्टेशन तथा अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुर्‍याएको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार ड्राइपोर्टमा पार्किङमा रहेका दर्जनौँ विद्युतीय (इभी) गाडीसमेत बगेका छन् । अहिलेसम्म ८ ओटा गाडी बगेको पुष्टि भएको छ ।

भन्सार कार्यालय रसुवाको यार्डमा रहेका ८ देखि ९ ओटा लोड कन्टेनर डिब्बा बगेका छन् भने रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा समेत क्षति पुगेको खबर प्राप्त भएको छ । माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजना क्षेत्रमा पनि बाढी पस्न सक्ने खतरा देखिएको छ ।

रसुवागढी नाका पछिल्लो समय चीनसँगको व्यापारका लागि अति महत्वपूर्ण प्रवेशद्वारका रूपमा प्रयोग हुँदै आएको थियो । छोटो दूरीका कारण व्यवसायीहरूका लागि यो नाका सहज मानिएको थियो ।  भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको जेठसम्म रसुवागढी हुँदै करिब ८० अर्ब ८१ करोड रुपैयाँको वस्तु नेपाल आयात गरिएको थियो। त्यस्तै, नेपालबाट चीनतर्फ १९ अर्ब ६१ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

चीनबाट नेपालमा मुख्यतया इभी गाडी, खेलौना, लत्ता कपडा, जुत्ता, फलफूल लगायतका सामग्री आयात गरिन्छ । त्यसैगरी, नेपालबाट चीनमा चिया, पुस्तक, छापासम्बन्धी सामग्री, हस्तकलाका सामग्री, ढुंगाका मूर्ति, चित्रकला, ऊन तथा पास्मिना र तिनबाट बनेका कपडा, काठका सामग्री निर्यात गरिन्छ ।

हाल पुल तथा सडक बगाएपछि दुई देशबीचको व्यापारिक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरोध कहिले खुल्ने भन्ने विषयमा स्पष्टता आइनसकेको भन्सार तथा सुरक्षाकर्मीहरूले बताएका छन् ।

बाढीले ल्याएको क्षतिको विस्तृत विवरण र क्षतिको मूल्याङ्कन कार्य जारी रहेको जनाइएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.