धितोपत्र बजार पुँजीकरणमा रेकर्ड ब्रेक, ४४ खर्ब २३ अर्ब नाघ्यो

काठमाडौं । नेपालको धितोपत्र बजार पुँजीकरणले नयाँ रेकर्ड बनाउँदै ४४ खर्ब २३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, २०८२ जेठ मसान्तसम्म बजार पुँजीकरणले यो ऐतिहासिक स्तर छोएको हो ।

गत वर्षको जेठ मसान्तसम्म बजार पुँजीकरण ३३ खर्ब ४९ अर्ब ४८ करोड रुपैयाँमा सीमित थियो भने २०८० माघ मसान्तमा यो ३३ खर्ब २ अर्ब ८४ करोड रहेको थियो । त्यसअघिको २०७९ माघ मसान्तमा बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब रुपैयाँ थियो ।

बजार पुँजीकरण भनेको सूचीकृत सम्पूर्ण कम्पनीका सेयरको बजार मूल्यको कुल जोडलाई जनाउने सूचक हो। सूचीकृत धितोपत्रहरूको संख्या र तिनको बजार मूल्यलाई आधार बनाएर बजारको आकार मापन गरिन्छ। यो सूचकले बजारको समग्र आकार तथा वृद्धिलाई पनि प्रतिविम्बित गर्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांक पनि गत वर्षको तुलनामा उल्लेखनीय रुपमा बढेको छ । २०८१ जेठ मसान्तमा २,११२.३० बिन्दुमा रहेको नेप्से २०८२ जेठ मसान्तसम्म आइपुग्दा २,६५५.३९ बिन्दुमा पुगेको छ ।

सूचीकृत कम्पनीहरूको संख्या

जेठ मसान्तसम्म नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । तीमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका कम्पनीहरू रहेका छन् । अघिल्लो वर्षको जेठ मसान्तमा सूचीकृत कम्पनीहरूको संख्या २७० थियो ।

बजार पुँजीकरणमा क्षेत्रगत हिस्सा

बजार पुँजीकरणमा सबैभन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको रहेको छ, जसको योगदान ५२.१ प्रतिशत छ । त्यसपछि जलविद्युत् कम्पनीको १६.१ प्रतिशत, लगानी कम्पनीको ८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.५ प्रतिशत, व्यापारिक संस्थाको ५.३ प्रतिशत, होटलको २.८ प्रतिशत र अन्य समूहको १०.२ प्रतिशत हिस्सा रहेको छ ।

सेयरको चुक्ता पुँजी

२०८२ जेठ मसान्तसम्म नेप्सेमा सूचीकृत ८ अर्ब ८० करोड कित्ता सेयरको चुक्ता पुँजी ८ खर्ब ६७ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

थप धितोपत्र सूचीकरण

आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रु २३ अर्ब ६३ करोड बराबरको बोनस सेयर, रु २२ अर्ब ४० करोड बराबरको साधारण सेयर, रु १२ अर्ब १५ करोड बराबरको हकप्रद सेयर, रु १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु ११ करोड २० लाख बराबरको एफपीओ, र रु ३ अर्ब ९६ करोड बराबरका अन्य सेयर गरी कुल रु ६३ अर्ब ५० करोड बराबरका थप धितोपत्र सूचीकृत भएका छन् ।

सार्वजनिक निष्काशन अनुमति

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु १४ अर्ब ९५ करोड बराबरको हकप्रद सेयर, रु १३ अर्ब बराबरको म्युचुअल फण्ड, रु ८ अर्ब ४२ करोड बराबरको डिबेन्चर, र रु २ अर्ब ७५ करोड बराबरको साधारण सेयर गरी कुल रु ३९ अर्ब १२ करोड बराबरका धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

नेपालको धितोपत्र बजारले पछिल्लो समयमा ऐतिहासिक रेकर्ड कायम गर्दै विस्तारलाई गति दिएको देखिन्छ । बजारको पुँजीकरणमा आएको यस्तो वृद्धिले लगानीकर्ताको मनोबल उच्च बनाउनुका साथै पूँजी बजारको दीर्घकालीन स्थायित्वमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.