भारतमा बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले भर्ने ‘केवाईसी’ फार्मको दुरुपयोग गरी बीमा कम्पनीहरूबाट एक अर्ब भारतीय रुपैयाँभन्दा धेरै रकम ठगी भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। यो घटना भारतमै होइन, विश्वकै बीमा क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो ठगीमध्ये एक भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
उत्तर प्रदेशको बुलन्दशहर लगायतका क्षेत्रमा सक्रिय ठगी समूहले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूको व्यक्तिगत विवरण (केवाईसी) हात पारेर ठगी गरेको अनुसन्धानबाट खुलेको हो। यो घटनामा हालसम्म ६० जना पक्राउ परिसकेका छन् भने सयौँ व्यक्तिहरूलाई प्रहरीले निगरानीमा राखेको छ। प्रहरी अधिकारीहरूले ठगीको रकम, पीडित र दोषीहरूको संख्या अझै बढ्न सक्ने बताएका छन्।
घटनाको पर्दाफास कसरी भयो?
यो ठगीकाण्डबारे प्रहरीले पहिलो पटक सुईँको यस वर्षको जनवरी महिनामा पाएको थियो। उत्तर प्रदेशको संभल जिल्लामा एक रहस्यमय सडक दुर्घटनामा संलग्न दुई जनालाई पक्राउ गरेपछि अनुसन्धान अघि बढेको थियो। त्यसक्रममा प्रहरीले एकपछि अर्को गरी ठगीको जालो पत्ता लगाएको थियो।
संभल जिल्लाकी प्रहरी अधिकारी अनुकृति शर्माका अनुसार सुरुमा घटना उत्तर प्रदेशमा सीमित देखिए पनि अनुसन्धानले भारतभर फैलिएको संकेत गरेको छ। उनले यो ठगीकाण्ड यति ठूलो भएकोले अन्तिम तथ्याङ्क निस्किन अझै समय लाग्ने बताएकी छन्।
कसरी गरिन्थ्यो ठगी?
अनुसन्धानका क्रममा पत्ता लागेको विवरणअनुसार ठगी समूहले अस्पतालमा गम्भीर रोगको उपचार गराइरहेका, विशेषगरी गरिब वर्गका बिरामीहरूको विवरण संकलन गर्थे। बैंकका केवाईसी फार्महरु हात पारेर उनीहरूको नाममा बीमा दावी गरिन्थ्यो।
अझै शोकजनक त के छ भने, उनीहरूले पहिले नै मृत भइसकेका मानिसहरूलाई जिवित देखाएर बीमा दावी गर्थे। कतिपय अवस्थामा जिवित व्यक्तिलाई मारेर मृत्युको प्रमाणपत्र तयार पारिन्थ्यो। यसरी मृतकका नाममा बीमा रकम र सरकारी राहतसमेत झिक्ने काम हुँदै आएको थियो।
सरकारी कर्मचारीदेखि डाक्टरसम्मको संलग्नता
ठगीमा बैंक तथा बीमा कम्पनीका कर्मचारी, सरकारी कर्मचारी, अस्पतालका डाक्टर, नर्स र अन्य कर्मचारीहरू समेतको संलग्नता रहेको आशंका गरिएको छ। यद्यपि, पक्राउ परेका ६० जना कुन कुन क्षेत्रका हुन् भन्ने विवरण प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।
भारतीय सञ्चारमाध्यमका अनुसार, सबैभन्दा धेरै मृतकलाई जिवित देखाएर बीमा दावी गर्ने र मृत्युको प्रमाणपत्र बनाउने कार्य दिल्लीस्थित जीबी पन्त अस्पतालमार्फत भएको पाइएको छ।
केवाईसीको गोप्यताको प्रश्न
यस ठगीकाण्डपछि बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले भर्ने केवाईसी फार्म र त्यसमा दिइने व्यक्तिगत विवरणहरूको गोप्यता र सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। केवाईसी विवरणकै आधारमा यति ठूलो ठगी हुनुले बैंक तथा बीमा कम्पनीहरूको सूचना सुरक्षामा कमजोरी रहेको प्रष्ट भएको छ।
अहिलेसम्मको अनुसन्धानका आधारमा ठगीको परिमाण अझै बढ्न सक्ने संकेत दिइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान तीव्र रूपमा अगाडि बढाएको जनाएको छ।
Comments are closed.