मौद्रिक नीति पछि पहिलो पटक ५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले  आईतबार मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो पटक ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ । वित्तीय प्रणालीमा बढ्दो तरलता व्यवस्थापन र बजार ब्याजदरलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले यो कदम चालेको हो ।

राष्ट्र बैंकले बोलकबोल प्रणालीमार्फत निक्षेप संकलन गर्ने भएको छ । हाल देशभर कुल निक्षेप ७१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता घटाउने रणनीति अपनाउँदै आएको छ ।

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन पाउनेछन् । काउण्टर पार्टीहरूले बोलकबोलमा प्रस्ताव गरेको ब्याजदरअनुसार सबैभन्दा कम दरलाई प्राथमिकता दिइने र आह्वान रकमसम्म क्रमशः रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

अनलाइन खरिद प्रणालीमार्फत हुने आजको बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको भागमा बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। संकलित निक्षेपको सावाँ तथा ब्याज २०८२ साउन १ गते भुक्तानी गरिनेछ।

केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन तरलता अवस्था देखिएमा संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिनासम्मको अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार राष्ट्र बैंकले पटक–पटक दीर्घकालीन निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आएको र बजार ब्याजदरलाई व्यवस्थित गर्ने प्रयास गरेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.