नबिल बैंकले साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

काठमाडौं ।  नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने योजना बनाएको छ, जसको कुल रकम ३ अर्ब रुपैयाँ बराबर हुन्छ । यसमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ) ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ) सर्वसाधारणमा सार्वजनिक रूपमा बिक्री गरिनेछ । सर्वसाधारणका लागि छुट्याइएका ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन छिटोमा साउन ९ गते बन्द हुनेछ भने आवश्यकताअनुसार ढिलोमा साउन २० गतेसम्म खुला रहनेछ ।

उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि इक्रा नेपालले नबिल बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यो रेटिङ्गले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतालाई पर्याप्त मात्रामा सुरक्षित रहेको सङ्केत गर्दछ ।

सो ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम तथा दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिने व्यवस्था गरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.