रोटरी काठमाडौं हेरिटेजद्वारा बृक्षारोपण र बाग्मती सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजले वातावरण संरक्षण र नदी संरक्षणप्रति प्रतिबद्धता जनाउँदै गुह्येश्वरीस्थित बाग्मती नदी किनारमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम अन्तर्गत क्लबले अधिकार सम्पन्न बाग्मती आयोजना तथा अभियान्ताहरूको सहकार्यमा विभिन्न प्रजातिका १५० बिरुवा रोप्नुका साथै बाग्मती नदी किनार क्षेत्रको सरसफाई गरेको हो ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का वातावरण समिति प्रमुख ध्रुव आचार्य, बाग्मती आयोजनाका पूर्वप्रमुख उद्धव तिमिल्सिना र हालका पदाधिकारी प्रकाश अर्यालको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा बाग्मती अभियन्ताहरू, बाल सारथी एकेडेमीका विद्यार्थीहरू, स्थानिय बासिन्दा, क्लबका सदस्यहरू तथा उनीहरूका परिवारका सदस्यसहित करिब ५० जनाको उल्लेखनीय सहभागिता रहेको थियो ।

क्लबका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सचिव चिजन पौडेलले सञ्चालन गरेका थिए भने कार्यक्रमको संयोजन पब्लिक इमेज चेयर डा। माला खरेलले गर्नुभएको थियो। कार्यक्रममा बिरुवा उपलब्ध गराउन बाग्मती अभियानका थानेश्वर भट्टले विशेष सहयोग गरेका थिए ।

बृक्षारोपण कार्यक्रमपछि बाग्मती सफाई अभियानका अभियानकर्ताहरूले रोपिएका बिरुवाको गोडमेल तथा संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता व्यक्त गरेका थिए। क्लबका प्रेसिडेन्ट नोमिनी पुण्य प्रसाद न्यौपानेले कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद दिए ।

रोटरी क्लबले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै भविष्यमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ । क्लबका अनुसार, रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले यो वर्षभित्र ५० हजार बिरुवा रोप्ने लक्ष्य लिएको छ।

बढ्दो वैश्विक तापक्रम र वातावरणीय संकटको सन्दर्भमा नेपालजस्ता देशले समयमै सचेत भई कदम चालेमा विश्वसमक्ष सकारात्मक उदाहरण बन्न सक्ने विश्वास क्लबले व्यक्त गरेको छ । यस्ता कार्यक्रमहरूले वातावरण संरक्षणसँगै पर्यटन, स्वास्थ्य र समग्र दिगो आर्थिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.