रमेश दुलाल
काठमाडौं । मधेस प्रदेशमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाएका छन् । मधेस लगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धान खेती हुँदै आएकामा खडेरीले रोपाईँमा समस्या पर्दै आएको छ । यस कारण खाद्य सुरक्षा जोखिम बढ्ने आँकलनकाबीच सुख्खा स्थान अनुकुल खेती गर्नुपर्ने कृषि विज्ञ डा। कृष्ण पौडेलले बताएका छन् ।
काठमाडौंमा आज आयोजित जलवायु न्याय सम्बन्धी कार्यक्रममा धारणा राख्दै कृषि विज्ञ पौडेलले मधेस तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको बताए । कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसायनले माटोको उर्वर शक्ति गुमाएको र त्यसले वातावरण तातो बनाएर हालको खडेरीको समस्या निम्तिएको डा.पौडेलको भनाइ छ । सोही कारण आगामी दिनमा कृषि प्रणाली परिवर्तन गरि तराई क्षेत्रको वातारण चिसो बनाउन हरियाली कायम तर्फ अग्रसर हुनुपर्ने उनको भनाई छ ।
कृषि बालीमा सिर्जित समस्या समाधानका लागि भन्दै सरकारले घोषणा गरेको डिप बोरिङ बनाउने घोषणाले तराईलाई मरभूमी बनाउन सक्ने भएकाले वैकल्पिक उपायतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । यस्तै, कार्यक्रममा वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पती समेत प्रभावित भएकाले ति क्षेत्रका मुद्दा समेत उजागर हुनुपर्ने बताए ।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतले वन्यजन्तु र वनस्पतिको मद्दा उठाउन बाटो देखाएको उनले बताए । यस्तै, अर्का वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकार लगायत सरोकारवालाले भावी पुस्ताको अधिकारको समेत ध्यान दिनुपर्ने बताए । दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन समेत जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने वरिष्ठ अधिवक्ता चापागाईंको भनाई छ ।
सञ्चारीका समूहकी अध्यक्ष कमला पन्थीले जलवायू न्यायबाट विशेषगरि महिलाहरु प्रभावित भएको बताईन् । सुख्खा भएसँगै पानीका लागि लामो यात्रा गर्दा महिलाहरु प्रभावित हुने गरेको उनको भनाइ छ । सञ्चारीका समूह र एक्सनएडकले संयुक्त अयोजनामा सो कार्यक्रम भएको हो ।
Comments are closed.