विकसित देशझैं सरकारले खातामै पैसा पठाएर अर्थतन्त्र चलायमान बनाउनुपर्छ: पूर्वगभर्नर नेपाल

काठमाडौं । पूर्वगभर्नर चिरञ्जीवि नेपालले नेपालजस्तो मुलुकमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको खर्च नीतिमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित ‘वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति’ विषयक अन्तरक्रियामा बोल्दै उनले विकसित देशहरुले अर्थतन्त्र सशक्त बनाउन नागरिकका खातामै पैसा हालिदिने उदाहरण प्रस्तुत गरे ।

“विकसित देशमा सरकारले कतिको खातामै खर्च गर भनेर पैसा पठाइदिन्छ,” उनले भने, “नेपालमा पनि अब यस्तै नीति आवश्यक छ, जसले उपभोग र लगानी दुवैलाई प्रोत्साहन गर्छ ।”

पूर्वगभर्नर नेपालका अनुसार अहिले नेपाल सरकारले लिएको मौद्रिक नीति लचिलो भए पनि त्यससँगै वित्तीय नीतिलाई समेत विस्तार गर्नुपर्ने आवश्यकता छ । उनले भने, “मौद्रिक नीति लचिलो छ, तर यत्तिले मात्र अर्थतन्त्र चल्दैन । विस्तारकारी वित्तीय नीति पनि आउनुपर्छ ।”

उनले ब्याजदर घटे पनि बैंकिङ प्रणालीमार्फत ऋण प्रवाह हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे । “ब्याजदर घट्दा ऋण प्रवाह बढ्नुपर्ने हो तर त्यो भएको छैन, यसले देखाउँछ कि अहिलेको तरलता अर्थपूर्ण उपयोगमा जान सकिरहेको छैन,” उनले भने ।

पूर्वगभर्नर नेपालले उपभोगमुखी प्रवृत्तिले रेमिट्यान्स तथा विदेशी सञ्चिति घट्न सक्ने सम्भावनातर्फ पनि चेतावनी दिए । उनले उदाहरण दिँदै भने, “दक्षिण कोरिया, जापानजस्ता मुलुकले नेपाली श्रमिकलाई स्थायी बसोबास दिन थालेमा रेमिट्यान्समा असर पर्न सक्छ । खाडी मुलुकले समेत ग्रामिण क्षेत्रमा श्रमिकलाई स्थायी राख्ने नीति लिइरहेका छन् । यसले दीर्घकालीन रूपमा रेमिट्यान्समा नकारात्मक असर गर्न सक्छ ।”

बोर्डर क्षेत्रका नेपालीले भारतीय बैंकमा पैसा राख्ने चलनबारे उल्लेख गर्दै उनले पूँजी पलायनको जोखिमसमेत औंल्याए । “हाम्रोमा ब्याजदर घट्यो भने पारी लगेर पैसा राख्ने सम्भावना छ, जसले तरलताको अभाव निम्त्याउँछ,” उनले भने ।

पूर्वगभर्नर नेपालले सरकारलाई स्टीमुलस प्याकेज ल्याएर कर छुट, लगानी प्रोत्साहन र ठूला आयोजनामा खर्च बढाउन सुझाव दिए । उनले भने, “अहिलेजस्तो बेलामा अर्थतन्त्रलाई सहारा दिने खालको बजेट र नीतिको खाँचो छ । कर दर घटाउने, ठूला पूर्वाधार परियोजनामा खर्च बढाउने, जनताको खातामै पैसा पठाउने खालको नीति ल्याउनु जरुरी छ ।”

उनका अनुसार, केही दिनभित्र मौजुदा विस्तारवादी मौद्रिक नीतिले अर्थतन्त्रमा कस्तो प्रभाव पार्दछ भन्ने प्रष्ट हुनेछ ।

You might also like

Comments are closed.