बाफिया यथास्थितिमा पारित भए उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) जस्ताको तस्तै पारित भए देशको उद्योग तथा व्यवसाय बन्द हुने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित “देशको वित्तीय तथा मौद्रिक स्थिति” विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले वर्तमान बाफिया ऐन संशोधनका प्रस्तावहरू जस्ताको तस्तै पारित भएमा त्यसले निजी क्षेत्रमाथि गम्भीर असर पार्ने बताएका हुन् ।

उनले भने, “प्रस्तावित बाफिया संशोधनले बैंकर र उद्योगीबीच कृत्रिम विभाजन सिर्जना गर्ने खतरा छ । प्रमोटरलाई उत्तरदायी बनाउने नाममा ५१ प्रतिशत संस्थापक शेयरको व्यवस्था र १ प्रतिशतभन्दा बढी शेयर भएकालाई कर्जा नदिने प्रस्तावले अधिकांश उद्योगधन्दा बन्द गराउने स्थिति आउन सक्छ ।”

ढकालले यस्तो अवस्था आएमा देशको आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने र लगानीमैत्री वातावरणमा आँच आउने स्पष्ट पारे। उनले निजी क्षेत्रको सहभागिता विना आर्थिक समृद्धि सम्भव नभएको उल्लेख गर्दै बाफियामा उल्लेखित “सम्बद्ध पक्ष” को परिभाषा पुनःलेखन गर्नुपर्ने माग गरे ।

उनले वर्तमान सरकारले उच्चस्तरीय आर्थिक आयोग गठन, विभिन्न ३० वटा कानून संशोधनको प्रतिबद्धता तथा बजेटमा निजी क्षेत्रलाई प्राथमिकता दिने नीति अपनाएकोप्रति स्वागत व्यक्त गरे ।

“नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणका लागि सरकारका प्रयासहरू प्रशंसनीय छन्,” ढकालले भने, “तर ऐन संशोधनको नाममा निजी क्षेत्रको मनोबल तोड्ने र लगानीकर्तालाई हतोत्साहित गर्ने कार्य स्वीकार्य हुँदैन।”

अध्यक्ष ढकालले देशको आर्थिक समृद्धिका लागि आन्तरिक तथा बाह्य पूँजी परिचालन अपरिहार्य रहेको धारणा राखे । सम्भावनायुक्त क्षेत्रमा लगानी विस्तार गर्न सकिने विश्वास व्यक्त गर्दै उनले सकारात्मक सोच र स्पष्ट नीति आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रलाई समावेशी नीति निर्माण प्रक्रियामा सहभागी गराउन आग्रह गर्दै बाफिया ऐन संशोधन गर्दा सो क्षेत्रका सुझावहरूलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेको छ ।

You might also like

Comments are closed.