काठमाडौं । अबदेखि सेयर कारोबारको नयाँ खाता खोल्दा राष्ट्रिय परिचय पत्र (NID) अनिवार्य गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सबै ब्रोकर कम्पनीहरूलाई नयाँ खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र नम्बर समावेश गर्नुपर्ने व्यवस्था लागू गरेको जनाएको छ ।
नेप्सेले यस सम्बन्धमा सबै ब्रोकरहरूलाई औपचारिक रूपमा पत्राचार गरिसकेको छ। साथै, आफ्नै कारोबार प्रणाली (TMS) प्रयोग गरिरहेका ब्रोकरहरूलाई पनि यो नयाँ प्रणाली लागू गर्न आवश्यक तयारी थाल्न निर्देशन दिइएको छ ।
नेप्सेले सेयर बजारमा नागरिकको पहिचान सुनिश्चित गर्दै पारदर्शिता र दुरुपयोग रोक्नका लागि यो कदम चालिएको बताएको छ । यस नियमसँगै अब सेयर बजारमा नयाँ लगानीकर्ता बन्न चाहने व्यक्तिले राष्ट्रिय परिचयपत्र प्राप्त गर्नुपर्ने अनिवार्य व्यवस्था लागू हुनेछ ।
नेप्सेले आगामी दिनमा डिजिटल कारोबार प्रणालीलाई अझ प्रभावकारी बनाउन र नागरिकका डाटा व्यवस्थापनमा सुधार ल्याउन थप प्रविधिमैत्री नीतिहरू ल्याउने संकेतसमेत दिएको छ ।
Comments are closed.