काठमाडौं । बागमती प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार २ अर्ब ५० करोड ६४ लाख ६६ हजार रुपैयाँको कुल बजेटमध्ये ६७.२९ प्रतिशत खर्च गरिएको छ । यस वर्ष मन्त्रालयले किसानमुखी कार्यक्रम, संरचनागत सुधार र रोग नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्दै कार्यान्वयनमा सफलता हासिल गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार बागमती प्रदेशको कृषि विकास सम्बन्धी विधेयक, २०८० प्रदेश सभाबाट पारित भइसकेको छ र हाल प्रमाणिकरणको अन्तिम चरणमा रहेको छ । यो विधेयक कार्यान्वयनमा आएपछि हरेक वर्ष कार्यविधि बनाउने झन्झट हट्ने र कार्यक्रम कार्यान्वयनमा सहजता आउने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले २३ नयाँ कार्यविधि र एक पुरानो कार्यविधिको संशोधन स्वीकृत गरेको छ ।
‘एक वडा, एक उत्पादन’ कार्यक्रमको विस्तार
कृषि तथा पशु सेवा कार्यालय नभएका जिल्लाहरूमा सेवा केन्द्र स्थापना गर्दै मन्त्रालयले सेवा प्रवाहको पहुँच विस्तार गरेको छ । गत वर्षदेखि सुरु गरिएको ‘एक वडा, एक उत्पादन’ कार्यक्रमलाई थप विस्तार गरी यस वर्ष थप २५ वडालाई समेट्दै कुल ७० वडामा पुर्याइएको छ । हरेक वडामा ४० लाख रुपैयाँ बराबरको साझेदारी सहयोग प्रदान गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
पशुपंक्षी क्षेत्रमा उल्लेखनीय प्रगति
पशुपंक्षी तथा मत्स्य क्षेत्रमा प्राकृतिक र अप्राकृतिक विपद्बाट प्रभावित ३३० किसान र ६ फार्मलाई १ करोड २२ लाख रुपैयाँभन्दा बढी राहत रकम वितरण गरिएको छ । साथै, पशु स्वास्थ्य क्षेत्रमा पनि महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् । पिपिआर रोग नियन्त्रणका लागि १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिएको छ जसअन्तर्गत १५ लाखभन्दा बढी भेडा–बाख्रालाई खोप दिइएको छ भने लम्पी स्किन डिजिज नियन्त्रणका लागि ७२ हजार गाई–भैंसीमा निःशुल्क खोप लगाइएको छ ।
चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ‘बायो सेफ्टी लेभल टु प्लस’ प्रयोगशाला निर्माण सम्पन्न भई विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । यसले पशुपंक्षीका रोगहरूको वैज्ञानिक परीक्षणमा मद्दत पुर्याउने मन्त्रालयको भनाइ छ ।
दूध पाउडर प्लान्ट र थोक कृषि बजारको तयारी
हेटौँडामा निर्माण सम्पन्न भएको दूध पाउडर प्लान्ट दैनिक ६० हजार लिटर दूध प्रशोधन क्षमता सहित सञ्चालनको अन्तिम चरणमा पुगेको छ । डेरी विकास संस्थानमार्फत परीक्षण सञ्चालन भइरहेको छ । यस्तै, हेटौँडा–११ मा निर्माण सम्पन्न भएको प्रादेशिक कृषि थोक बजार आगामी साउन १८ गते औपचारिक रूपमा हस्तान्तरण गरिने जानकारी कृषि मन्त्री प्रकाश श्रेष्ठले दिएका छन् ।
आगामी वर्षका लागि महत्वाकांक्षी योजना
आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयले कृषि क्षेत्रमा लगानी प्रवर्द्धन र आधुनिक कृषि प्रणाली विकासका लागि महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । योजनामा १० करोडको कर्जा सुरक्षण कोष, ५ करोडको सहुलियतपूर्ण व्याज अनुदान, स्मार्ट कृषि तथा पशुपंक्षी फार्म स्थापना, आधुनिक बधशाला निर्माण, जैविक मल कारखानाको निरन्तरता जस्ता कार्यक्रम समावेश छन् ।
त्यस्तै, पशुपंक्षी तथा मत्स्य व्यवसाय प्रवर्द्धन गर्न २० करोडको स्टार्टअप ग्रान्ट, च्याउ र फूल खेती, कृषि बजार सूचना प्रणाली र आधुनिक ग्रिन हाउस निर्माण कार्यक्रम पनि अघि सारिएका छन् । साथै, किसानको जीवनस्तर उकास्न र व्यवसायिक कृषि प्रणालीलाई अघि बढाउन मन्त्रालयले बजेट र कार्यक्रम दुवै सशक्त बनाएको बताइएको छ ।
Comments are closed.