नाइमा एक्स्पो २०२५ मा जगदम्बा मोटर्सद्वारा १४ देखि १९ सिटर क्षमताका ईभी सार्वजनिक

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि. ले नेपालमा व्यावसायिक विद्युत् सवारी साधन (कमर्सियल ईभी) को क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा १४ देखि १९ सिटर क्षमताका बहुप्रयोगी कमर्सियल ईभी सार्वजनिक गरेको छ। कम्पनीले फ्यारिजोन, चेरी वान्डा र किङ लङजस्ता चिनियाँ ब्रान्डमार्फत यी सवारीसाधन सार्वजनिक गर्दै दिगो यातायात समाधानप्रति आफ्नो प्रतिबद्धता देखाएको छ।

नेपालले विद्युत् सवारीसाधन अपनाउने दरमा विश्वमै अग्रता लिइरहेको वर्तमान सन्दर्भमा, जगदम्बा मोटर्सले देशको व्यावसायिक परिवहन क्षेत्रमा बढ्दो मागलाई सम्बोधन गर्न यी बहुप्रयोगी ईभीहरू प्रस्तुत गरेको हो। कम्पनीका वरिष्ठ उपाध्यक्ष राजु भेतवालका अनुसार, “हामी विविध कमर्सियल मोबिलिटी समाधान प्रस्तुत गर्न पाउँदा गर्व गर्छौं। हामी विश्वास गर्छौं, ईभी इकोसिस्टमले यस्ता विकल्पहरूबाट ठूलो लाभ पाउनेछ।”

फ्यारिजोन १९ सिटर भ्यान, जुन Geely Group अन्तर्गत निर्माण गरिएको हो, विशेषगरी पर्यटक, स्टाफ ट्रान्सपोर्ट र इन्टरसिटी सेवाका लागि उपयुक्त मानिन्छ । यो सवारी WVTA प्रमाणित, आधुनिक डिजाइन, बलियो निर्माण, १७०kW क्षमताको मोटर, ८२.८८ kWh ब्याट्री, र उच्च सुरक्षायुक्त प्रविधिहरू (जस्तै एयरब्याग, ABS, EBD, हिल होल्ड, ADAS आदि) सहितको छ। साथै, यसमा चालकको सुविधा ध्यानमा राखी AC, हीटर, तातो सिट र तातो स्टेरिङ जस्ता सुविधा पनि समावेश गरिएको छ। यसको मूल्य नेपालमा रु ७६,९०,००० बाट सुरु हुन्छ ।

त्यस्तै, चेरी वान्डा नामक अर्को कमर्सियल ईभी १४ सिट क्षमताको माइक्रोबस हो, जसमा CHERY र WANDA ब्रान्डको संयुक्त प्रविधि छ। ३०० किमीको NEDC रेन्ज, १८० मिमि ग्राउन्ड क्लियरेन्स, CATL ५३.५८kWh ब्याट्री क्षमतायुक्त यो सवारी मूल्यमा पनि किफायती रहेको छ। यसको मूल्य रु ५६.५ लाख तोकिएको छ। साथै, यसमा ब्याट्रीमा ३ लाख किमी वा ५ वर्ष र मोटरमा ५ वर्ष वा २ लाख किमीको वारेन्टी दिइएको छ ।

यी दुवै सवारीसाधनहरू नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा D-16, Hall D मा अवलोकन गर्न सकिनेछ । सो अवसरमा बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष अफर पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

नेपालमा दिगो, किफायती र सुरक्षित व्यावसायिक यातायात समाधानको खोजीमा रहेका प्रयोगकर्ताहरूका लागि यी नयाँ ईभीहरू स्मार्ट विकल्प बन्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.