नेपाल–श्रीलंका चेम्बरबीच व्यापार तथा लगानी प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल–श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्री (NSCCI) र चेम्बर अफ एक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, सेवा, संयुक्त उद्यम र औद्योगिक सहकार्य प्रवर्द्धनका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

श्रीलंकाका लागि नेपालस्थित कार्यवाहक राजदूत (Acting Ambassador) चाल्स डि अफेयर्स चमेरा मुनासिंघेको उपस्थितिमा सम्पन्न भर्चुअल जुम मिटिङमार्फत उक्त सम्झौता भएको हो। नेपालतर्फबाट एनएससिसिआईका महासचिव नरेन्द्र बल्लभ पन्त र श्रीलंकातर्फबाट राष्ट्रिय निर्यातकर्ता चेम्बर अफ कमर्शका महासचिव तथा सीईओ एम. शिहम मारिकरले हस्ताक्षर गरे ।

कार्यक्रममा मुनासिंघेले यो सम्झौतालाई ऐतिहासिक उपलब्धि भन्दै निकट भविष्यमा दुई मुलुकबीच व्यवसायिक गतिविधि उल्लेख्य रूपमा बढ्ने अपेक्षा व्यक्त गरिन्। उनले पारस्परिक व्यापारिक साझेदारीले दुवै मुलुकका व्यवसायीलाई लाभ पुर्‍याउने धारणा राखिन् ।

सम्झौताअनुसार आगामी सेप्टेम्बर १८ देखि २१ सम्म श्रीलंकामा आयोजना हुने इण्डष्ट्रियल एक्स्पोमा नेपालका प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ। यस्तै, भविष्यमा नेपालमा पनि सोही प्रकृतिको एक्स्पो आयोजना गरिनेछ, जसमा श्रीलंकाली प्रतिनिधिहरू सहभागी हुनेछन् ।

दुई संस्थाबीच भएको यो सम्झौताले सेवा तथा औद्योगिक क्षेत्रको सहकार्य अभिवृद्धि गर्ने, व्यापार प्रवर्द्धन गर्ने, सदस्यहरूबीच भ्रमण र अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखेको छ। समझदारीपछि सदस्यहरूले एकअर्काको मुलुकमा व्यक्तिगत वा सामूहिक भ्रमण गर्न सक्नेछन् ।

त्यस्ता भ्रमणले व्यापार, लगानी नीति, बजार अध्ययन, आर्थिक विकास पहल र विदेशी व्यापार सम्बन्धमा द्विपक्षीय छलफललाई सघाउने विश्वास गरिएको छ ।

सम्झौतामा व्यापार मेला, प्रदर्शनी र अन्य व्यापार प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गर्न सहकार्य गर्ने, जानकारी र स्रोतहरू साझा गर्ने, सदस्यलाई सहभागिता प्रोत्साहित गर्ने, र सम्भावित व्यापार विवाद समाधानमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।

त्यस्तै, सम्झौताका उद्देश्यलाई सशक्त रूपमा कार्यान्वयन गर्न दुवै पक्षले नेपाल र श्रीलंकामा एकअर्काको कार्यालय तथा सचिवालय सुविधाहरूको उपयोग गर्न पनि सहमति जनाएका छन् ।

यो सम्झौता नेपाल–श्रीलंकाबीच व्यापारिक कूटनीतिक सम्बन्ध विस्तारको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

You might also like

Comments are closed.