भारतको बाढी–पहिरोमा परेका १८ नेपाली सम्पर्कविहीन

काठमाडौं । भारतको उत्तराखण्डमा गत मंगलबार आएको बाढी र पहिरोका कारण जाजरकोट, जुम्ला र बर्दियाका १८ नेपाली सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन हुनेमा जाजरकोटका मात्र १३ जना छन् । बर्दियाका ५ जना सम्पर्कविहीन छन् । मंगलबार उत्तरकाशी जिल्लाको धराली बजारमा आरिघोप्टे वर्षा भएर बाढी आएको थियो । यस्तै बुधबार पौडी गढवालमा पहिरो गएको थियो । नेपालीहरू यी दुवै घटनामा परेको अनुमान गर्दै स्थानीय तहहरूले सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् ।

जाजरकोटको कुशे गाउँपालिका—२ का १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार पालिकाका अन्य वडाका व्यक्ति पनि हराएको आशंका छ । त्यहाँ बाढीपहिरोले ठूलो क्षति पुर्‍याएकाले मजदुरीका लागि गएका अन्य स्थानीयसँग सम्पर्क नभएको गाउँपालिकाले जनाएको छ । पालिकाले आवश्यक पहलका लागि संघीय सरकारलाई गुहारेको छ ।

कुशे गाउँपालिकाका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंहको मृत्यु भएको मानबहादुर सिंहका छोरा नवीनले जानकारी गराएका छन् । २१ वर्षका नवीन बुवासँगै काम गर्न गएका थिए । उनीसँगै सोही वडाका अनुमानित २० जना काम गर्दै आएको नवीनले जानकारी दिएको वडाध्यक्ष मानबहादुर सिंहले बताएका छन् ।

यस्तै जुम्ला तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन रहेको आफूले जानकारी पाएको अध्यक्ष बस्नेतले बताएका छन् ।

दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले उत्तरकाशीको घटनामा नेपाली हराएको विषयमा भारतीय प्रहरीबाट औपचारिक जानकारी प्राप्त नभएको बताएका छन् धराली घटनामा २ सय ७४ जनाको उद्धार भएको छ । तर उनीहरू सबैको पहिचान भइसकेको छैन ।

यता उत्तराखण्डको पौडी गढवालस्थित ग्राम बाकुडाबाट करिब १ किमि टाढा मधेरा खटौलानजिक सिन्धु खोला किनारमा बुधबार बिहान खसेको पहिरोमा परी ५ जना नेपाली बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बर्दियाका मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका तीन, मधुवन–५ गाउँ नम्बर ८ का एक र मधुवनकै वडा नखुलेका एक जना छन् । पहिरोमा परी मधुवन–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन छन् । गाउँ नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता र मधुवनकै २१ वर्षीय सुवास विक पनि पहिरोमा बेपत्ता छन्  ।

You might also like

Comments are closed.