ललितपुरमा खानेपानी संकट तीव्र, स्थानीयको चर्को गुनासो

ललितपुर । ललितपुर जिल्लामा खानेपानी अभाव दिनप्रतिदिन जटिल बन्दै गएको छ। भैँसेपाटी, बुङ्मती, कुसुन्ती लगायतका क्षेत्रका धारामा झण्डै तीन सातादेखि पानी नआएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। कतिपय क्षेत्रमा महिनौँदेखि अनियमित रूपमा पानी आउने अवस्था रहेको जनाइएको छ ।

भैँसेपाटी क्षेत्रका बासिन्दाहरू २१ दिनदेखि सुक्खा धारा हेरेर बसेको र खानेपानी वितरण कार्यालय धाउने दिनचर्या बनेको गुनासो गर्छन् । बुङ्मतीका स्थानीय त पानीका मुहान खोज्दै घण्टौँ टाढासम्म जान बाध्य भएका छन्। गत असोजमा आएको बाढीले पाइपलाइनमा क्षति पु-याएपछि समस्या अझै जटिल बनेको हो ।

पानी अभावका कारण सर्वसाधारण सार्वजनिक कुवा र धारामा लाइन बस्न बाध्य छन् । केहीले निजी ट्याङ्करबाट पानी किनेर प्रयोग गरिरहेका छन् तर महँगो दरका कारण सबैले उक्त विकल्प अपनाउन सकिरहेका छैनन् ।

ललितपुर वडा नं. २५ का अध्यक्ष दौलत खत्री र वडा नं. १८ का अध्यक्ष रविन्द्र महर्जनले समस्या समाधानका लागि निरन्तर पहल भइरहेको जनाए पनि तत्कालिन राहत पर्याप्त नभएको स्वीकार गरेका छन्। खत्रीका अनुसार वडा कार्यालयमा दैनिकजसो उपभोक्ताको गुनासो आइरहेको छ। महर्जनले त पाइप जडानमा आफैं खटिएको जानकारी दिए ।

समाजसेवी देवेन्द्र गौतमले भने खानेपानीजस्तो संवेदनशील विषयमा राज्य गम्भीर नभएको आरोप लगाए। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ललितपुर शाखाका प्रमुख विजय विश्वकर्माले पनि बाढीले पुर्याएको क्षति अझै मर्मत नहुनु समस्या बनेको स्वीकार गरेका छन् ।

उनका अनुसार फर्पिङ स्टिम प्रणालीबाट दैनिक दुई करोड लिटर पानी आपूर्ति गर्ने क्षमता भए पनि हाल १ करोड २० लाख लिटर मात्र आइरहेको छ। मेलम्चीको पानीसमेत हाल रोकिएको छ । चक्रपथ बाहिरको क्षेत्रलाई लक्षित गरी नल्लु खोला, बासुदु र चारघरे मुहान व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

स्थानीयवासीको स्पष्ट माग छ – राज्यले खानेपानी आपूर्तिमा तत्काल गम्भीरता देखाओस्, नत्र समस्या झनै विकराल बन्दै जानेछ ।

You might also like

Comments are closed.