काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड (SBL) ले चालु आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्षको तुलनामा झण्डै २२० प्रतिशतले वृद्धि भई १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यो मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो। डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि बैंकले १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने स्थिति बनाएको छ ।
समग्र मुनाफा र आम्दानीमा उल्लेखनीय सुधार
समीक्षा अवधिमा बैंकको समग्र मुनाफा १०.२४ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो मुनाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन ६.४३ प्रतिशतले वृद्धि हो । सेवा शुल्क र अन्य आम्दानी १५.०९ प्रतिशतले बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। संचालन आम्दानी ११.८२ प्रतिशतले वृद्धि भई ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
बैंकले कम जोखिम भएका कर्जातर्फ प्राथमिकता दिँदै लगानी पोर्टफोलियोमा सुधार गरेको छ। यसले बैंकको खराव कर्जा (NPL) २.६२ प्रतिशतमा सीमित गरेको छ। यस अवधिमा १ अर्ब ३१ करोड रुपैयाँको कर्जा नोक्सानी प्रोभिजनिङ गरिएको छ, जुन जोखिम व्यवस्थापनको संकेत हो ।
निक्षेप र कर्जामा सन्तुलित वृद्धि
क्षेप संकलन १६.१६ प्रतिशतले वृद्धि भई २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी ९.७६ प्रतिशतले बढेर २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। यसमा ३८ अर्ब ९९ करोड निक्षेप र १९ अर्ब ७ करोड कर्जा वृद्धि भएको हो। बैंकको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ। यसले बैंकको वित्तीय स्थायित्व संकेत गर्दछ ।
प्रमुख वित्तीय सूचकहरू
प्रतिशेयर आम्दानी (EPS): २४ रुपैयाँ १० पैसा, वितरणयोग्य EPS: १३ रुपैयाँ २२ पैसा, नेटवर्थ प्रति शेयर: २१९ रुपैयाँ ९७ पैसा (अघिल्लो वर्षको तुलनामा २३.६१ रुपैयाँले वृद्धि), PE Ratio: १५.९३, पूँजीकोष अनुपात (Capital Adequacy Ratio): ११.७७%, कर्जा/निक्षेप अनुपात (CD Ratio): ७६.९२%, आधार ब्याजदर: ६.४२% (१.६९% विन्दुले घटेको), स्प्रेडदर: ३.९८% रहेको छ ।
वितरणयोग्य मुनाफामा उल्लेखनीय वृद्धि हुनु, जोखिम व्यवस्थापनमा सन्तुलन देखिनु र समग्र सूचकहरूमा सुधार हुनु सिद्धार्थ बैंकको रणनीतिक सफलताको द्योतक हो। बैंकका अनुसार केही ऋणपत्र चालु आर्थिक वर्षमै परिपक्व हुँदैछन्, जसपछिको मुनाफामा थप सुधार आउने आशा गरिएको छ । समग्रमा बैंकको वित्तीय स्थिति मजबुत देखिएको छ, जसले आगामी दिनमा थप विश्वासिलो प्रदर्शनको आधार तयार पार्ने संकेत गर्छ ।
Comments are closed.