काठमाडौं । प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्जवल पाटनीद्वारा प्रस्तुत हुने “बिजनेस ब्लु प्रिन्ट नेपाल” कार्यक्रम यही भदौ १२ गते (सन् २०८२) काठमाडौंको होटल म्यारीयटमा आयोजना हुने भएको छ । कार्यक्रममा नेपालका अग्रणी व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप संस्थापकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमता विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण तथा आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षमा केन्द्रित यो कार्यक्रममा सहभागीहरूले व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक रणनीति, कार्यान्वयनका उपाय र उत्प्रेरणादायी विचारहरू प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउनेछन् ।
राजधानीमा साउन २५ गते आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा जिनियस टक्सका प्रबन्धक कृष्ण शाहले डा. पाटनीले भारत तथा अन्य मुलुकमा १० हजारभन्दा बढी यस्ता सेमिनार सफलतापूर्वक सञ्चालन गरिसकेको जानकारी दिँदै काठमाडौंमा यो उनको पहिलो शो हुने बताए। उनले यस्ता कार्यक्रमहरूले नेपाली व्यवसायिक समुदायलाई थप प्रेरणा र टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
मुख्य प्रायोजक शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ हेड निखिल अग्रवालले व्यवसायिक क्षेत्रमा अनुभवी विज्ञहरूको ज्ञान र अनुभवले नयाँ ऊर्जा प्रदान गर्ने उल्लेख गर्दै कम्पनी यस्ता खालका कार्यक्रममा निरन्तर सहकार्य गर्न तयार रहेको बताए ।
यसअघि भारत लगायतका मुलुकमा सफलतापूर्वक सम्पन्न भएका डा. पाटनीका यस्ता कार्यक्रमहरू प्रभावशाली सावित भएका छन् । नेपालमा पहिलोपटक आयोजना हुन लागेको यो संस्करणले देशको व्यवसायिक दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको आयोजकहरूले जनाएका छन् ।
Comments are closed.