एभरेष्ट बैंकको वित्तीय सूचक बढयो, नाफा झन्डै ५ अर्ब

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकले वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति गरेको देखिएको छ।

वित्तीय विवरणअनुसार, बैंकले गत वर्ष असार मसान्तसम्म ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको थियो भने यो वर्ष सो नाफा ३२.८१ प्रतिशतले वृद्धि भएर ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, खुद ब्याज आम्दानी ७ अर्ब ६४ करोड रुपैयाँबाट १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड रुपैयाँ नाघेको छ । बैंकको कुल सञ्चालन आम्दानी पनि साढे ९ अर्ब रुपैयाँबाट बढेर ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले बैंकको कुल खुद नाफा बढ्न सहयोग पुर्‍याएको छ । बैंकले गत वर्ष ५ अर्ब ६६ करोड रुपैयाँ सञ्चालन नाफा कमाएकोमा यो वर्ष ३१.६३ प्रतिशतले वृद्धि भएर ७ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ ।

आर्थिक वर्षको मुनाफाबाट बैंकले ३८.२७ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ जुन अघिल्लो वर्षको ३८.०६ प्रतिशतभन्दा थोरै बढी हो ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३१.४७ रुपैयाँबाट बढेर ३७.९९ रुपैयाँ पुगेको छ भने समिक्षा अवधिमा प्रतिशेयर नेटवर्थ २४७.३९ रुपैयाँ रहेको छ। खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ ।

चुक्ता पूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको बैंकको शेयर प्रिमियम २३ करोड ८४ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ९५ करोड रुपैयाँ र रिजर्भमा १३ अर्ब ८८ करोड रुपैयाँ सञ्चित छ ।

बैंकले १ अर्ब १० करोड रुपैयाँ सापटी लिएर ग्राहकलाई २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलन २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

You might also like

Comments are closed.