पोखरा–युङनाम विश्वविद्यालयबीच आईटी क्षेत्रमा सहकार्य सम्झौता, इन्फो म्याक्स कलेज अवलोकन

पोखरा । पोखरा महानगरपालिका र दक्षिण कोरियाको युङनाम विश्वविद्यालयबीच आपसी समझदारी, मित्रता प्रवर्द्धन तथा दुवै संस्थाको समान विकासका लागि ‘सहकार्य सम्झौता’ भएको छ ।

सम्झौतापछि युङनाम विश्वविद्यालयका अध्यक्ष छोइ ओ–चुल नेतृत्वको टोलीले नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रको सम्भाव्यताबारे थप जानकारी लिन पोखरास्थित इन्फो म्याक्स कलेजको अवलोकन गरेको हो ।

अवलोकनका क्रममा टोलीले कलेजको शैक्षिक पूर्वाधार, पाठ्यक्रम संरचना, आधुनिक प्रयोगशालाहरू, विद्यार्थीहरूको प्राविधिक दक्षता र हाल सञ्चालनमा रहेका परियोजनाहरूको बारेमा विस्तृत जानकारी लिएको थियो । कलेजमा आईटी, कम्प्युटर साइन्स, सफ्टवेयर इन्जिनियरिङ र नेटवर्किङ जस्ता आधुनिक विषयहरूमा शिक्षा दिइन्छ ।

इन्फो म्याक्स कलेजले विद्यार्थीहरूलाई व्यावहारिक प्रशिक्षण, इन्टर्नशिप र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजनाहरूमा सहभागिता दिलाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ । टोलीले विद्यार्थी र संकाय सदस्यहरूसँग अन्तरक्रिया गर्दै आईटी क्षेत्रमा सम्भावित सहकार्य, अनुसन्धान परियोजना र विद्यार्थी आदानप्रदानका अवसरबारे पनि छलफल गरेको कलेजका प्रतिनिधिले जनाएका छन् ।

कलेजका प्रधानाध्यापकका अनुसार, ‘यस अवलोकनले दुवै पक्षबीच प्राविधिक र शैक्षिक सहकार्यका नयाँ अवसर सिर्जना गर्नेछ र पोखराको आईटी शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने बाटो खोल्नेछ ।’

You might also like

Comments are closed.