काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । बैंकिङ क्षेत्रमा बढी रहेको तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे यसका लागि बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ । निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
यो निक्षेप संकलन उपकरण ब्याजदरमा आधारित रहनेछ र बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले स्पष्ट पारेअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यसमा सहभागी हुन पाउनेछन् ।
३१ दिनको अवधिका लागि संकलन गरिने यस निक्षेपको साँवा तथा ब्याज असोज १ गते भुक्तानी गरिनेछ । यसअघि पनि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि पटक–पटक निक्षेप संकलन गर्दै आएको छ ।
Comments are closed.