पूर्वाधार, प्रवर्द्धन नीति अभावले थला परेको नेपालको पर्यटन

दीपेन्द्र पहारी
नेपाल, प्राकृतिक सुन्दरताले धनी देश हो, जसले पर्यटनबाट देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । सन् २०१९ मा नेपालमा १२ लाखभन्दा बढी विदेशी पर्यटक आएका थिए र करिब ७.९ अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष र अप्रत्यक्ष आम्दानी गरिएको थियो । तर, पछिल्लो दशकमा नेपालले पर्यटन विकासमा धेरै चुनौतीहरूको सामना गरिरहेको छ । यी चुनौतीहरूले पर्यटक आगमनलाई सीमित मात्र गरेको छैन, देशको दीर्घकालीन आर्थिक विकासमा समेत प्रभाव पारेको छ ।

नेपालको पर्यटन क्षेत्रमा विगत केही वर्षयता निजी क्षेत्रबाट उल्लेख्य लगानी भएको पाइन्छ । होटल, रिसोर्ट, रेष्टुरेन्ट, ट्राभल तथा ट्रेकिङ एजेन्सी, एड्भेन्चर टुरिज्मलगायतका पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी भइसकेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ सालसम्म पर्यटनसम्बन्धी क्षेत्रहरूमा करिब ३ खर्ब रुपैयाँभन्दा बढीको निजी लगानी भएको छ । विशेषगरी पोखरा, काठमाडौं, लुम्बिनी, चितवन र मुस्ताङ क्षेत्रमा उच्च लगानी गरिएको देखिन्छ । तर, पछिल्लो समय यो लगानी असुरक्षित बन्दै गएको छ । यसको प्रमुख कारण भनेकै सरकारले अपनाएको मौद्रिक नीति हो, जसले पर्यटनमैत्री वातावरण सिर्जना गर्न सकेको छैन। उच्च ब्याजदर, कर्जामा कठिन पहुँच, र पूँजी फिर्ता नहुनुजस्ता कारणले निजी क्षेत्र दबाबमा परेको छ । पर्यटक नआएपछि होटलहरूले सञ्चालन खर्चसमेत जोहो गर्न नसकेको अवस्था छ । विशेषगरी सन् २०१९ मा करिब १२ लाख पर्यटक भित्रिएको नेपालको संख्या सन् २०२० मा कोरोना महामारीका कारण २ लाख ३० हजारमा झ¥यो। महामारीपछिको पुनरुत्थान प्रयास पनि कमजोर भयो ।

नेपाल पर्यटन बोर्ड तथा अन्य निकायहरूले प्रवद्र्धनमा आवश्यक ध्यान नदिँदा अन्तर्राष्ट्रिय बजारमा नेपालको ब्रान्डिङ कमजोर रह्यो । नेपाल भ्रमण वर्ष २०२० को असफलता, र पछिल्लो समय यथोचित प्रचारको अभावले विदेशी पर्यटक तान्न नसक्दा लगानी र पर्यटक आगमनबीचको असन्तुलन भयावह बन्दै गएको छ । उदाहरणका लागि, पोखरामा मात्रै ५० भन्दा बढी ठूला होटल तथा रिसोर्टहरू खुलेका छन्, जसमा प्रत्येक होटलमा न्यूनतम १० देखि ५० करोड रुपैयाँसम्म लगानी भएको छ । तर २०७९ सालको तथ्यांकअनुसार पोखरामा आउने पर्यटकहरूको औसत बास संख्या १.५ दिन मात्र रहेको छ, जसले आय आर्जनमा प्रत्यक्ष प्रभाव पारेको छ । यसले गर्दा निजी क्षेत्र निराश बन्दै गइरहेको छ । लगानीको प्रतिफल नआउँदा कतिपय व्यवसाय बन्द भएका छन् भने कतिपय बिक्रीको प्रक्रियामा छन्। नयाँ लगानीको वातावरण बन्न सकेको छैन। पर्यटन क्षेत्रमा लगानी सुरक्षित बनाउन मौद्रिक नीति लचिलो बनाउनुपर्छ, ब्याजदर घटाउनुपर्छ, र पर्यटक प्रवाह सुनिश्चित गर्न प्रवद्र्धन र गन्तव्य विविधीकरणमा सरकार तथा बोर्डले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता छ । यो नगरेसम्म पर्यटन क्षेत्रको पुनरुत्थान सम्भव छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा करिब २२ अर्ब रुपैयाँ (लगभग १८० मिलियन अमेरिकी डलर) लगानी गरिएको थियो। यो अत्याधुनिक पूर्वाधारले अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न सक्ने क्षमतामा छ । तर, हालसम्म यहाँ नियमित अन्तर्राष्ट्रिय उडानहरु पर्याप्त रूपमा सञ्चालन हुन सकेका छैनन्। यसले लगानी निष्क्रिय बनाएको छ र क्षेत्रीय पर्यटन विकासलाई प्रभावित पारेको छ । वार्षिक अनुमानित ५ लाख पर्यटक आगमन क्षमता भएको यो विमानस्थलमा अहिले १०% भन्दा कम क्षमता मात्रै प्रयोग भइरहेको छ । कूटनीतिक सम्झौता अभाव, एयरलाइन्सको चासो नपर्नु, र सरकारी प्रवद्र्धन कमजोर हुनु मुख्य कारण हुन्। यसले पोखराको पर्यटन सम्भावना पूर्णरूपमा फाइदा लिन नसकेको हुँदा, पर्यटन क्षेत्रबाट प्राप्त हुने राजस्व र रोजगारी सृजनामा ठुलो कमी आएको छ । पोखरा र आसपास क्षेत्रका व्यवसायहरूलाई पनि यसको नकारात्मक असर परेको छ ।

नेपालमा पर्यटक संख्या वर्षानुवर्ष बढ्दै गए पनि गुणस्तरीय र दिगो पर्यटनको विकास भने सीमित छ । सन् २०१९ मा १२ लाख पर्यटकको आगमन भएको भए पनि अधिकांश पर्यटकहरू भीड हुने ट्रेकिङ क्षेत्रहरू र मुख्य गन्तव्यहरूमा केन्द्रित छन्। भीड पर्यटनका कारण पर्यावरणीय प्रदूषण, फोहोर व्यवस्थापन समस्या, र स्थानीय सांस्कृतिक धरोहरमा ह्रास देखिएको छ । उदाहरणस्वरूप, सगरमाथा क्षेत्र तथा अन्नपूर्ण क्षेत्रका ट्रेकिङ मार्गहरूमा प्लास्टिक फोहोर र फोहोर व्यवस्थापनको अभावले वातावरणीय क्षति बढाएको छ । यो स्थितिले पर्यटकहरूको अनुभवमा गिरावट ल्याउँछ र पुनःआगमन दर घटाउँछ, जसले आर्थिक रूपमा दीर्घकालीन घाटा निम्त्याउन सक्छ । दिगो पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रले वातावरणीय संरक्षण, स्थानीय समुदायको सहभागिता, र पर्यटक संख्या नियन्त्रणमा जोड दिन आवश्यक छ ।

नेपालमा पर्यटन विकास क्षेत्रीय रूपमा असन्तुलित छ । गण्डकी र बागमती प्रदेशहरूमा कुल पर्यटक आगमनको करिब ७५% केन्द्रित रहेको छ । यस्ता क्षेत्रहरूमा समृद्ध पूर्वाधार, विमानस्थल, तथा व्यवसायिक केन्द्रहरू छन्। तर, कर्णाली र सुदूरपश्चिम प्रदेशहरू जस्ता पर्यटकीय गन्तव्यहरू हुँदाहुँदै पनि पूर्वाधार अभाव, पहुँच कठिनाइ, र प्रवद्र्धन कम हुने कारणले ती क्षेत्रहरू पछि परेका छन्। राज्यको लगानी धेरैजसो गण्डकी र बागमतीमा केन्द्रित छ, जसले क्षेत्रीय विकासमा असन्तुलन निम्त्याएको छ । यसले आर्थिक अवसरहरू सीमित पार्दा ती क्षेत्रका जनसंख्या रोजगार खोज्न विस्थापन हुने जोखिम बढाएको छ । सन्तुलित लगानी र स्थानीय पर्यटन प्रवद्र्धन गर्न नसकिएमा राष्ट्रिय आर्थिक विकासमा समग्र रूपमा अवरोध आउनेछ ।

पर्यटनको सफलताका लागि सडक, विद्युत्, इन्टरनेट, र सरसफाईजस्ता आधारभूत पूर्वाधारको राम्रो अवस्था आवश्यक छ । नेपालमा करिब ८०% सडक मर्मत आवश्यक अवस्थामा छन् र धेरै गाउँसम्म पक्की सडकको पहुँच छैन। विद्युत् कटौतीले औसतमा हरेक वर्ष ४ घण्टा भन्दा बढी सेवा अवरुद्ध हुन्छ । इन्टरनेट सेवा ग्रामीण क्षेत्रमा कमजोर र महँगो हुँदा डिजिटल प्रवद्र्धन र सूचना प्रवाहमा समस्या आउँछ । शौचालय र सरसफाई सुविधाको अभावले स्वास्थ्य जोखिम बढाउँछ र पर्यटकको अनुभवमा नकारात्मक प्रभाव पार्छ। यी पूर्वाधार समस्याका कारण पर्यटक आगमनमा गिरावट आउन सक्छ र होटल तथा पर्यटन व्यवसायमा आर्थिक घाटा हुनेछ ।

२०७२ सालको भूकम्प र पछिल्लो कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पु¥यायो। भूकम्पले करिब ८ अर्ब अमेरिकी डलर बराबरको नोक्सान ग¥यो र ५ वर्षसम्म पर्यटन ४०% घट्यो। कोरोना महामारीले पर्यटक संख्या ९०% सम्म कम ग¥यो, जसले करिब १० लाख रोजगारी प्रभावित भयो। सरकारले पुनरुत्थान प्रयास गरेको भए पनि दीर्घकालीन संकट व्यवस्थापन नीति कमजोर छ । प्रकोप र महामारीका लागि पूर्वसूचना प्रणाली, जोखिम व्यवस्थापन र दिगो पर्यटन योजना अझै अभाव छन्। यदि दीर्घकालीन तयारी नहुने हो भने यस्ता संकटले पर्यटन अर्थतन्त्रमा बारम्बार नकारात्मक असर पु¥याउने सम्भावना छ ।

नेपालको पर्यटन उद्योग मुख्यतया ट्रेकिङ र पर्वतारोहणमा निर्भर छ, जसले करिब ७०% पर्यटकलाई आकर्षित गर्छ। सन् २०१९ मा एड्भेन्चर पर्यटनबाट ६०% पर्यटन आय आएको थियो। तर, कृषि पर्यटन, धार्मिक पर्यटन, स्वास्थ्य, र माइस पर्यटन क्षेत्रहरूको पर्याप्त प्रवद्र्धन भएका छैनन्। धार्मिक पर्यटनका गन्तव्यहरू जस्तै पशुपतिनाथ, लुम्बिनी र भक्तपुर अझै विकासको क्रममै छन्। स्वास्थ्य पर्यटनमा भारत र थाइल्याण्डले ठूलो बजार ओगटेको छ भने माइस पर्यटन नेपालमा ५% भन्दा कम छ । विविधीकरण नहुँदा मौसमी जोखिम बढ्छ र पर्यटन आय स्थिर रहँदैन। यसका लागि नयां क्षेत्रहरूमा लगानी र प्रवद्र्धन आवश्यक छ ।

नेपालका करिब ५० होटल व्यवस्थापन शिक्षालयहरूले वार्षिक १०,००० जनालाई तालिम दिने गर्दछन्। तर, यी शिक्षालयहरूले अन्तर्राष्ट्रिय स्तरको सेवा गुणस्तरमा पुग्ने दक्ष जनशक्ति उत्पादन गर्न भने पर्याप्त सफल हुन सकेका छैनन्। विश्व पर्यटन परिषद्ले २०२२ मा गरेको अध्ययनमा नेपालको सेवा दक्षता दक्षिण एसियाली क्षेत्रको औसतभन्दा २०% कम देखिएको छ । यसले विदेशी पर्यटकको सन्तुष्टि कम गराउँछ र पुनःआगमन दरमा कमी ल्याउँछ । होटलहरूले विदेशी कामदारहरूमा निर्भरता बढाउँदा रोजगारी र विदेशी मुद्रा निकासमा नकारात्मक असर पर्छ। गुणस्तरीय तालिम र आधुनिक सेवा प्रविधिमा लगानी गरेर मात्र दिगो पर्यटन विकास सम्भव छ । नेपालको ब्रान्डिङ, अन्तर्राष्ट्रिय बजारमा प्रभाव सीमित छ । सन् २०२० को नेपाल भ्रमण वर्ष कोरोना महामारीले प्रभावित हुँदा अपेक्षित परिणाम आएन । नेपालले वार्षिक पर्यटन प्रवद्र्धनमा करिब ५% बजेट खर्च गर्छ, जुन छिमेकी देश भारत र भुटानभन्दा कम हो। डिजिटल मार्केटिङ र लक्षित प्रचारमा कमजोरी छ । कमजोर प्रवद्र्धनले पर्यटक आकर्षणमा असर गर्छ र पर्यटन आय वृद्धिलाई रोक्छ । दीर्घकालीन आर्थिक लाभका लागि प्रभावकारी मार्केटिङ र लगानी आवश्यक छ ।

नेपालको भिसा प्रक्रिया पर्यटकमैत्री भए पनि आवेदन प्रक्रिया केही जटिल र समयलाग्दो छ । विश्व बैंकको २०२२ को सूचकाङ्क अनुसार नेपालले भिसा प्रक्रियामा १०० मध्ये ५५ अंक पाएको छ, जुन भारत र भुटानभन्दा कम हो। धेरै देशहरूले निशुल्क भिसा, सजिलो अनलाइन भिसा प्रणाली लागू गरेर पर्यटक आकर्षित गरिरहेका छन्। नेपालमा भने शुल्क र प्रक्रिया अझै सुधार आवश्यक छ । सरल भिसा नीतिले मात्र पर्यटक संख्या र पर्यटन आय वृद्धि गर्न सक्छ ।

सगरमाथा र अन्नपूर्ण ट्रेकिङ क्षेत्रहरूमा दैनिक हजारौं पर्यटक पुग्दा वातावरणीय प्रदूषण, जैविक विविधताको नोक्सान, र फोहोर व्यवस्थापन समस्या बढ्दै गएको छ । सगरमाथामा प्रत्येक सिजनमा करिब ८० टन प्लास्टिक फोहोर जम्मा हुन्छ । पर्यटन व्यवस्थापन नीतिहरू प्रभावकारी नभएका कारण दीर्घकालीन वातावरणीय संकट उत्पन्न हुने खतरा छ । पर्यावरणीय संरक्षण र पर्यटक संख्या नियन्त्रण गरी मात्रै पर्यटनको स्थायित्व कायम गर्न सकिन्छ ।

नेपालमा बारम्बारको सरकार परिवर्तनले लगानीमा अनिश्चितता बढाएको छ । सन् २०१५ देखि २०२३ सम्म पाँचवटा सरकार परिवर्तन हुँदा विदेशी लगानी १५% ले घटेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गन्तव्य विकास परियोजनाहरूमा ढिलाइ भएको मुख्य कारण नीति अन्योलता हो। राजनीतिक स्थिरता नहुँदा निजी र विदेशी लगानीकर्ताको विश्वास कमजोर हुन्छ र रोजगारी सृजना तथा आर्थिक वृद्धिमा बाधा आउँछ । नेपालको पर्यटन मुख्यतया भारत र चीनमा निर्भर छ, जसले कुल पर्यटकको ६५% भाग ओगटेको छ । यो निर्भरता जोखिमपूर्ण छ, किनभने यी देशहरूमा संकट आए पर्यटनमा गिरावट आउँछ । कोरोना महामारीले यो कुरा स्पष्ट बनाएको छ । नेपालले युरोप, अमेरिका र मध्यपूर्व जस्ता नयाँ बजारहरूमा डिजिटल मार्केटिङ र लक्षित प्रचार बढाएरे सन् २०२३ मा ती बजारबाट १०% पर्यटक बृद्धि गरेको देखिन्छ । विविधीकरणले पर्यटन आयमा स्थिरता र दीर्घकालीन विकास सुनिश्चित गर्छ ।

नेपालमा पर्यटन तथ्यांक संकलन असंगठित र विश्वसनीय छैन। करिब १५% त्रुटि भएको अध्ययनले देखाएको छ । विश्वसनीय तथ्यांक नहुनाले नीति, बजेट, र पूर्वाधार विकासमा प्रभावकारी निर्णय लिन सकिएको छैन। यसले विदेशी लगानीकर्ताको विश्वासमा कमी ल्याउँछ र दीर्घकालीन पर्यटन रणनीतिमा बाधा पु¥याउँछ । आधुनिक प्रविधि र दक्ष जनशक्ति मार्फत तथ्यांक व्यवस्थापन मजबुत बनाउन आवश्यक छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, स्थानीय निकाय र निजी क्षेत्रबीच समन्वय अभावले नीति कार्यान्वयन बजेटमा ढिलाइ देखिएको छ । विभिन्न निकायबीच ३०% परियोजना दोहोरो भएको अध्ययनले देखाएको छ । समन्वय नहुँदा निजी क्षेत्रको सहभागिता कम हुन्छ र पर्यटन क्षेत्रको विकासमा बाधा आउँछ । स्पष्ट जिम्मेवारी र सहकार्य आवश्यक छ ताकि राष्ट्रिय पर्यटन अर्थतन्त्रले अपेक्षित विकास हासिल गर्न सकोस् ।

नेपालको पर्यटन उद्योगमा अनेकौं चुनौतीहरू छन् जसले देशको आर्थिक विकासमा सघाउ पु¥याउन सक्ने सम्भावनालाई कमजोर बनाएका छन् । पूर्वाधार अभाव, क्षेत्रीय असन्तुलन, संकट व्यवस्थापनको कमी, पर्यटन उत्पादनको सीमितता, जनशक्ति अभाव, र नीतिगत कमजोरीहरूले दीर्घकालीन विकासमा बाधा पु¥याइरहेका छन् । यी समस्याहरूलाई समाधान गर्न समन्वित प्रयास, दीर्घकालीन रणनीति, पर्याप्त लगानी, प्रविधि उपयोग र क्षेत्रीय समान विकास आवश्यक छ । केवल यति गरेमा मात्र नेपालले विश्व पर्यटन बजारमा प्रतिस्पर्धी बन्न सक्छ र आफ्नो प्राकृतिक तथा सांस्कृतिक सम्पदाबाट दिगो आर्थिक लाभ प्राप्त गर्न सक्नेछ ।

उपरोक्त सबै समस्याहरूको आर्थिक विश्लेषणको आधारमा नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि केही स्पष्ट र व्यावहारिक मार्गचित्र तय गर्न आवश्यक छ । पहिलो, पर्यटन क्षेत्रलाई उत्पादनशील क्षेत्रसरह मान्दै लगानीमैत्री नीति निर्माण गर्नुपर्छ। मौद्रिक नीतिमा लचिलोपन ल्याई ब्याजदर घटाउने, पर्यटन व्यवसायका लागि पुनर्कर्जा कोष स्थापना गर्ने, र कर प्रणालीलाई सरल तथा प्रोत्साहनात्मक बनाउने खाँचो छ । यसले लगानीकर्तालाई आत्मविश्वास बढाउँछ र पूँजी पुनः सृजना गर्ने वातावरण बनाउँछ । दोस्रो, पर्यटक आगमन वृद्धि गर्न अन्तर्राष्ट्रिय बजारमा आक्रामक प्रवद्र्धन रणनीति आवश्यक छ । डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता, देशको विशिष्ट गन्तव्यहरूको ब्रान्डिङ र कूटनीतिक स्तरबाट एयर कनेक्टिभिटी विस्तार अत्यावश्यक छ । पर्यटक नआएसम्म लगानीको प्रतिफल सम्भव छैन ।

तेस्रो, निजी क्षेत्रसँग सहकार्य गर्दै गन्तव्यको विविधीकरण र उत्पादन प्रणालीको विकास गर्नुपर्छ। केवल काठमाडौं, पोखरा वा चितवनमा सीमित नरही, लुम्बिनी, खप्तड, रारा, अपर मुस्ताङजस्ता क्षेत्रलाई पनि पर्यटकीय रुपमा विकसित गर्ने दीर्घकालीन रणनीति आवश्यक छ । यसले पर्यटकको बसाइ अवधि बढाउँछ र खर्च विस्तार हुन्छ ।चौथो, जनशक्ति विकासमा लगानी गर्नुपर्छ। सीपयुक्त, सेवा–मुखी र विदेशी भाषामा दक्ष जनशक्ति उत्पादन गर्न शिक्षा र तालिमको पहुँच विस्तार गर्नुपर्छ। अन्ततः, पर्यटन एक आर्थिक उत्प्रेरक हो भन्ने बुझ्दै यसलाई सरकारको प्राथमिकताको केन्द्रमा राखी स्पष्ट, दिगो र समन्वित नीतिगत दृष्टिकोण अवलम्बन नगरीकन पर्यटन पुनरुत्थानको सपना पुरा हुन सक्दैन। यही बाटो नेपालको समृद्धिको मूल आधार बन्न सक्छ ।
(लेखक पर्यटन विषयका प्राध्यापक हुन् ।)

 

You might also like

Comments are closed.