काठमाडौं । ‘नाडा अटो शो २०२५’ आज आइतबार समापन हुँदैछ । भदौ ३ गते सुरु भएको अटो शो आज छैटौं दिनमा समापन हुँदैछ । अटो शो अवलोकनका लागि आज अन्तिम दिन भएकाले छुटेका अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहने आयोजक संस्था नाडाले विश्वास लिएको छ ।
यसैक्रममा पाँचौ दिन शनिबार अटो शोमा दर्शकको उपस्थिति बाक्लो देखियो । हालसम्म १ लाख ४९ हजार ८ सय ८१ जना दर्शकले अटो शोको अवलोकन गरिसकेको नाडा महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए ।
दर्शकको उपस्थितिले आफूहरु उत्साही भएको नाडा अध्यक्ष करण चौधरी बताउँछन् । ‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले म यी उपलब्धिहरुलाई एउटा शुभारम्भको रूपमा लिएको छु । यसले हाम्रो अपेक्षामा अझ बृद्धि भएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,’ उनले भने ।
Comments are closed.