काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतीप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) एशियन रिजनल बोर्ड (PCI SSC – Payment Card Industry Security Standards Council South Asia Regional Engagement Board) को सदस्यमा चयन भएको छ। यस बोर्डमा नेपालबाट प्रतिनिधित्व गर्ने एक मात्र संस्था SCT बनेको हो ।
SCT का अतिरिक्त, भारतको NPCI, Mastercard, Visa, American Express जस्ता विश्वका ठूला भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरू पनि यस बोर्डमा रहेका छन् । यसलाई डिजिटल भुक्तानी क्षेत्रमा दक्षिण एशियाको बढ्दो महत्वलाई प्रतिबिम्बित गर्ने ऐतिहासिक कदमका रूपमा लिइएको छ ।
PCI SSC एक विश्वव्यापी मञ्च हो जसले डिजिटल भुक्तानी सुरक्षाका अन्तर्राष्ट्रिय मापदण्ड विकास गर्दै साइबर जोखिम तथा सुरक्षा चुनौतीहरू न्यूनीकरण गर्न योगदान गर्दै आएको छ। दक्षिण एशियामा पहिलोपटक गठन भएको यस क्षेत्रीय बोर्डमार्फत विश्वव्यापी सहकार्यलाई अझ मजबुत पार्ने अपेक्षा गरिएको छ ।
क्षेत्रीय संलग्नता बोर्डका सदस्यका रूपमा SCT ले दक्षिण एशियाभर भुक्तानी सुरक्षासम्बन्धी चुनौती तथा अवसरबारे परामर्श दिनेछ, अन्तर्राष्ट्रिय मापदण्ड र कार्यक्रम विकासमा सुझाव दिनेछ, साथै PCI SSC का उत्कृष्ट अभ्यासबारे शिक्षा र सचेतना बढाउने मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछ ।
स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले भने, “नेपालको प्रतिनिधित्व गर्दै यो प्रतिष्ठित मञ्चमा चयन हुनु हाम्रो लागि सम्मानको कुरा हो । यसले सुरक्षित डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतालाई पुष्टि गरेको छ। हामी हाम्रो कार्ड नेटवर्क र डिजिटल भुक्तानी विशेषज्ञता मार्फत क्षेत्रीय सहकार्यलाई थप सबल बनाउन उत्साहित छौँ ।”
सन् २००१ मा स्थापना भएको स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) नेपालकै पहिलो डोमेस्टिक कार्ड नेटवर्क हो । यसले कार्ड सेवा बाहेक डिजिटल भुक्तानी प्रणालीमार्फत २३ बैंक तथा वित्तीय संस्था, १० भुक्तानी सेवा प्रदायक र ८० भन्दा बढी सहकारी संस्थासँग सहकार्य गर्दै लाखौँ नेपालीलाई सेवा प्रदान गर्दै आएको छ । वित्तीय समावेशीकरण, नवप्रवर्तन र डिजिटल रूपान्तरणलाई प्रोत्साहन गर्दै SCT ले नेपालको डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
Comments are closed.