काठमाडौं । युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र महिलाको सहभागिता बढाउने उद्देश्यले सेनेका एजुकेशन कन्सल्टेन्सीले पहिलो पटक यू–१९ गल्र्स बास्केटबल लिग आयोजना गर्ने घोषणा गरेको छ । यो लिगलाई दीर्घकालीन प्रतिबद्धताका साथ अघि बढाइने आयोजकहरूले जनाएका छन् ।
‘Growth Cost Game and Game Cost Team’ शीर्षकमा हुने यो प्रतियोगिता सन् २००६ मा जन्मिएका खेलाडीहरूका लागि मात्र खुला रहनेछ । भदौ १६ (सेप्टेम्बर १) देखि दर्ता सुरु हुने र भदौ १७ (सेप्टेम्बर २) सम्ममा टोलीले जन्मदर्ता प्रमाणपत्रसहित कागजात बुझाउनुपर्नेछ । दर्ता “पहिलो आए, पहिले पाउने” आधारमा हुनेछ र अधिकतम ६ टोलीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
बजेट र खेल तालिका
करिब ३ लाख रुपैयाँ बजेटमा सञ्चालन हुने यस लिगमा कुल ४१ खेल हुनेछन् । प्रत्येक टोलीले कम्तीमा १० खेल खेल्ने अवसर पाउनेछन् । लिग चरणपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । विजेता टोलीले नगद पुरस्कारसहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । सेनेका एजुकेशन कन्सल्टेन्सीले यो लिगमार्फत बास्केटबललाई दीर्घकालीन सहयोग गर्ने लक्ष्य राखेको छ । खेलकुदको स्तर र अस्तित्वलाई उचाल्ने, टोलीगत सीप, अनुशासन र उत्साहलाई प्रखर बनाउने, युवती खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउने, टोलीहरूको विकासलाई निरन्तर अनुगमन र सहयोग गर्ने, युवामाझ बास्केटबलप्रति रुचि र मूल्याङ्कन बढाउने जस्ता लक्ष्य राखेको छ ।
आयोजकहरूले प्रायोजनका लागि विभिन्न निकायलाई आह्वान गरेका छन् । प्रायोजकहरूलाई सामाजिक सञ्जाल प्रचार, ब्रान्ड भिजिबिलिटी, प्रत्यक्ष सार्वजनिक सम्पर्क र मिडिया कवरेजमार्फत लाभ दिलाइनेछ । खेल अवधिभर अनुशासन, खेलभावना र सुरक्षालाई विशेष प्राथमिकता दिइने बताइएको छ । साथै, खेलाडीहरूको सुरक्षाका लागि बीमा सुविधा पनि उपलब्ध गराइनेछ ।
प्रमुख मिति र कार्यक्रम
भदौ १६–१७ (सेप्टेम्बर १–२): टोली दर्ता र कागजात बुझाउने ।
भदौ १८–१९ (सेप्टेम्बर ३–४): कप्तान तथा प्रशिक्षक परिचय र टोली अपेक्षाबारे छलफल ।
भदौ २० (सेप्टेम्बर ५): खेल तालिका सार्वजनिक ।
भदौ २१ (सेप्टेम्बर ६): अपराह्न ३ः३० बजे भव्य उद्घाटन समारोह, स्वागत मन्तव्य, पर्दा–उद्घाटन तथा टोली परिचय ।
प्रत्येक खेलको विस्तृत अभिलेख तयार गरिनेछ, जसमा अन्तर्वार्ता, स्कोरबोर्ड अपडेट र भिडियो क्लिपहरू समावेश हुनेछन्। फाइनल विशेष आकर्षणका साथ सम्पन्न हुनेछ ।
सहभागी टोलीहरू
यसपटकको प्रतिस्पर्धामा सैपाल क्लब, गोल्डेन गेट क्लब, भ्याली पब्लिक बलर्स एकेडेमी, चेल्सी इन्टरनेशनल कलेज र निम्स क्लबलगायतका टोलीहरू सहभागी हुनेछन् ।
Comments are closed.