पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले उद्योगी–व्यवसायीलाई करसम्बन्धी जिम्मेवारी आफैंले बुझेको आधारमा वहन गर्न आग्रह गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघले आइतबार ढुंगानाको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले भने, “करोडौं लगानी गर्ने उद्योगी/ व्यवसायीहरुले आफैं करबारे आवश्यक ज्ञान लिनुपर्छ । कर सहयोगीलाई युजर नेम र पासवर्ड दिएर ढुक्क बस्दा समस्या परे ‘मलाई थाहा छैन’ भनेर उम्कन पाइँदैन । हाम्रो कर प्रणाली घोषणा–आधारित भएकाले घोषणा गरेपछि त्यसलाई सच्याउन गाह्रो हुन्छ।”
उनले हालको कर प्रणालीले ७५ प्रतिशत काम घरमै बसेर गर्न सकिने सुविधा दिएको उल्लेख गर्दै भने, “अहिले फेसलेस प्रणाली लागू भएको छ। पहिले कर कार्यालय जाँदा डराउने वातावरण थियो, तर अहिले पारदर्शी र सजिलो छ।”
ढुंगानाले आन्तरिक राजश्व कार्यालय कसैको उजुरीको भरमा छापा मार्न नजाने पनि स्पष्ट पारे। उनका अनुसार, प्रतिस्पर्धी व्यापारका कारण हुने उजुरीलाई तत्काल आधार नबनाई अनुसन्धानपछि मात्र कारबाही गरिन्छ।
गृह जिल्ला कास्कीमै प्रमुख कर अधिकृत भएर आएको प्रसंगमा उनले भने, “कर प्रशासनका व्यक्तिहरू प्रायः आफ्नै जिल्लामा आउन खोज्दैनन् । तर म जोखिम मोलेर आएको हुँ। ठूला कर छली हुँदा जिल्लावासी भएकै कारण कसैलाई छाड्न मिल्दैन, तर उद्योगी/व्यवसायीलाई सहजीकरणमा म सधैं तयार छु ।”
कार्यक्रममा संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी–व्यवसायीलाई कर तिर्न प्रोत्साहन गर्नु संघको दायित्व भएको उल्लेख गर्दै कर प्रशासनसँग सहजीकरणमैत्री व्यवहारको अपेक्षा व्यक्त गरे । महासचिव शोभा गौतमले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।
पोखरा–२६, बुढीबजार घर भएका ढुंगाना १७ वर्षे निजामती सेवापछि गृह जिल्लाकै आन्तरिक राजश्व कार्यालयको नेतृत्व सम्हाल्न आएका हुन् ।
Comments are closed.