कामना सेवा विकास बैंकले विराटनगर मालपोत पुनर्निर्माण गर्ने

विराटनगर । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङ, विराटनगरको मालपोत कार्यालयको पुनर्निर्माण गर्ने भएको छ । जेन–जीको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेको उक्त कार्यालयको मर्मतसम्भार बैंकले गर्ने जनाएको छ।

पुनर्निर्माणका लागि मालपोत कार्यालय विराटनगरका मालपोत अधिकृत अजय राजवंशी र बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भट्टराईबीच सम्झौतामा हस्ताक्षर भएको छ । हाल कार्यालयको क्षतिप्रति विवरण संकलन भइरहेको र त्यसपछि पुनर्निर्माणको काम सुरु हुने बैंकले जनाएको छ ।

अवस्थित अवस्थाअनुसार, आन्दोलनका क्रममा पथरीस्थित इलाका प्रहरी कार्यालयका उपकरण तथा सामग्री पनि आगलागीबाट नष्ट भएका थिए । बैंकले तत्काल आवश्यक कम्प्युटर सामग्री हस्तान्तरण गर्दै कार्यालय सञ्चालनमा सहयोग गरेको छ। डिएसपी तिलसिंह प्रसाद अर्यालले बैंकको सहयोग अत्यन्त महत्वपूर्ण रहेको भन्दै आभार प्रकट गरेका छन् ।

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य वडा कार्यालय, मालपोत कार्यालय र प्रहरी कार्यालयको पुनर्निर्माण तथा मर्मतसम्भारमा पनि सहकार्य गर्दै आएको र आगामी दिनमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

You might also like

Comments are closed.