पोखरा । पोखरा उद्योग वाणिज्य संघसहित ३० वटा व्यावसायिक संघ–संस्थाहरूले हाल देखिएको राजनीतिक तथा सामाजिक गतिरोध अन्त्य गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् । संयुक्त रूपमा शुक्रबार जारी अपिलमार्फत ती संघ–संस्थाहरूले देशले थप अराजकता र हिंसा सहन नसक्ने भएकाले देशलाई कानुनी शासन र स्थायी शान्तिको बाटोतर्फ अघि बढाउन आग्रह गरेका हुन् ।
अपिलमा संवैधानिक संस्थाबाट गतिरोध अन्त्य गर्ने पहलको प्रशंसा गर्दै सबै पक्षलाई सहमतिपूर्ण समाधानमा ढिला नगर्न अनुरोध गरिएको छ । साथै, संक्रमणकालको तत्काल अन्त्य तथा शान्ति–सुरक्षा बहालीको माग गर्दै अपिलमा भनिएको छ, “संक्रमणकाल लम्बिँदा अराजकता र अस्थिरता चाहने समूहहरू सक्रिय हुन्छन् । यस्तो प्रवृत्ति कार्यपालिकाको दृढ क्रियाशीलता र मजबुत सुरक्षा व्यवस्थाले मात्र रोक्न सक्छ ।”
संयुक्त अपिलमा नेपालको निजी क्षेत्र सदैव आत्मनिर्भर अर्थतन्त्र निर्माण, उद्योग–व्यवसाय संचालन तथा युवालाई रोजगारी सिर्जना गर्न अग्रसर रहेको उल्लेख गर्दै लगानीका लागि अनुकूल वातावरण र शान्ति–सुरक्षाको आवश्यकतामा जोड दिइएको छ ।
भदौ २३ गतेबाट सुरु भएको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिप्रति स्तब्धता प्रकट गर्दै अपिलमार्फत होनहार युवाहरूको बलिदानप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । तर आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड, लुटपाट तथा व्यावसायिक प्रतिष्ठानमाथिको आक्रमणप्रति ती संघ–संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। अपिलमा भनिएको छ, “यस्ता गतिविधिले उद्योगी–व्यवसायी निराश भएका छन्, राज्यलाई कर तिर्ने र रोजगारी सिर्जना गर्ने निजी क्षेत्र हतोत्साहित भएको छ ।”
संघ–संस्थाहरूले जेनजी आन्दोलनमा भएको घुसपैठबारे स्वतन्त्र छानबिन गरी आपराधिक गतिविधिमा संलग्नहरूलाई कडा कारबाही गर्न र क्षतिपूर्ति दिन माग गरेका छन्। साथै प्रशासनबाट जारी सूचना र आदेश पालना गर्न व्यवसायीहरूलाई आह्वान गर्दै आफ्ना उद्योग–व्यवसायको सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरिएको छ ।
अपिलमा थप भनिएको छ, “व्यावसायिक सुरक्षाका लागि सम्पूर्ण व्यवसायीहरू सतर्क र एकजुट हुन आवश्यक छ। प्रशासनले आपराधिक गतिविधि रोक्न अझ सक्रियता देखाउनुपर्छ।”
उक्त संयुक्त अपिलमा पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमसहित विभिन्न क्षेत्रीय संघ–संस्थाका अध्यक्ष र पदाधिकारीहरूले हस्ताक्षर गरेका छन्। उनीहरूले जेनजी आन्दोलनलाई संयमपूर्ण, रचनात्मक र जिम्मेवार तरिकाले अघि बढाउन आग्रह गर्दै अराजक गतिविधि रोक्न आह्वान गरेका छन् ।
Comments are closed.